क्वारेन्टाइनमा रहेका नेपालीको एक सातापछि दोस्रो पटक थ्रोट स्वाब परीक्षण गरिने

काठमाडौं, ११ फाल्गुन । क्वारेन्टाइनमा रहेका नेपालीको एक सातापछि दोस्रो पटक थ्रोट स्वाब परीक्षण गरिने भएको छ ।
गत आइतबार चीनबाट नेपाल फर्काइएका १ सय ७५ जनाको दोस्रो पटक थ्रोट स्वाब परीक्षण गरिने तयारी गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेले राष्ट्रिय स्वास्थ्य जनस्वास्थ्य तथा प्रयोगशालाले उनीहरुको थ्रोट स्वाब परीक्षण गर्ने बताए ।
उनले भने, ‘क्वारेन्टाइनमा बसेका नेपालीहरुको अबको १४ औं दिनमा थ्रोट स्वाब परीक्षण गरिने छ । संख्या धेरै भएकाले नतिजा आउन २–३ दिनको समय लाग्न सक्छ । नतिजा सबै नेगेटिभ भएपछि उनीहरुलाई घर फकाइने छ ।’
डा.पाण्डेले परीक्षणको नतिजा आउन २–३ समय लाग्ने भएकाले उनीहरुलाई घर फर्काउन १६–१७ दिनपनि लाग्न सक्ने बताए ।
पूर्ण सुरक्षा र तालिमप्राप्त स्वास्थ्यकर्मीको रेखदेखमा रहेका उनीहरुको पहिलो थ्रोट स्वाब गत आइतबार नै गरिएको थियो । पहिलो परीक्षणमा उनीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको थियो ।
क्वारेन्टाइनमा रहेका नेपालीहरुको प्रत्येक दिन २ पटक ज्वरो मापन गर्ने गरिन्छ र सरसफाइका लागि विशेष ध्यान दिइएको छ ।