एआईको सहयोगले वैज्ञानिकहरूले पत्ता लगाए नयाँ किसिमको 'शक्तिशाली एन्टीबायोटिक'



Download our app to get more features

बीबीसी, ११ फाल्गुन । अमेरिकामा वैज्ञानिकहरूले अत्यन्त खतरनाकमध्येका केही थरी ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको नयाँ किसिमिको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाउन आर्टिफिशल इन्टेलिजन्सको सहयोग लिएको बताएका छन् ।

विज्ञहरूले यसलाई ठूलो उपलब्धि मानेका छन् ।

एमआईटी संस्थाका अनुसन्धानकर्ताहरूले ब्याक्टेरियालाई मार्न सक्ने अणुहरू पहिचान गर्न एल्गरिदमलाई प्रशिक्षित गरेका छन् । उक्त ज्ञानको सहयोगबाट उनीहरूले मानिसलाई लाग्ने विभिन्न रोगको उपचारमा प्रयोग हुने ६ हजार भन्दा धेरै थरीका यौगिकको अध्ययन गरे ।

त्यसपछि केही घण्टामै उक्त एल्गरिदमले ह्यालिसीन नामक यौगिकको शक्तिशाली एन्टीबायोटिकको रूपमा सम्भाव्यता उजागर गरिदियो ।

विज्ञहरूले गरे स्वागत
वैज्ञानिकहरूको नयाँ खोजलाई विज्ञहरूले औषधि प्रतिरोधसम्बन्धी समस्या समाधानतर्फ महत्त्वपूर्ण विकास भनेर स्वागत गरेका छन् ।

उक्त एल्गरिदमको सहयोगमा वैज्ञानिकहरूले केही दिनभित्रै दशौँ करोड रासायनिक यौगिकको विश्लेषण गर्न सके । नयाँ पत्ता लागेको यौगिकले घातक हुन सक्ने ३५ थरी ब्याक्टेरियालाई मार्न सकेको अनुसन्धानकर्ताहरूले बताएका छन् । केही वर्षयता एन्टीबायोटिक प्रतिरोधी सङ्क्रमणका घटना बढेका छन् ।

जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा शरीरभित्र रहने हानिकारक ब्याक्टेरियाले त्यसको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छन् । अर्थात् चाहिएको बेला औषधिले काम गर्न सक्दैन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्व स्वास्थ्य सुरक्षा तथा विकासले सामना गरेको सबभन्दा ठूलो खतरामध्ये एक मानेको छ ।

नयाँ युग
“एन्टीबायोटिकसम्बन्धी खोजमा यो पहिलो हो,” एमआईटीमा कार्यरत वरिष्ठ अनुसन्धानकर्ता रेजिना बार्जिलेले बताइन् । मानिसको मस्तिष्कको प्रारूपबाट प्रभावित भएर विकास गरिएको एल्गरिदमको सहाराले उक्त खोज गरिएको हो ।

“हालसम्म खोज गरिएकोमा यो सबभन्दा शक्तिशालीमध्येको एन्टीबायोटिक हो,” ह्यालिसिनबारे एमआईटीका बायोइन्जिनियर जेम्स कोलिन्सले बताए ।

अनुसन्धानकर्ताहरूका अनुसार यसरी औषधि पत्ता लगाउन मशीनको प्रयोग गर्दा त्यसले भविष्यमा थप एन्टीबायोटिकको खोजी गर्ने काममा लाग्ने खर्च कम बनाउनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts