भगवान कोइराला नेतृत्वको बाल अस्पताललाई बैंक अफ काठमाडौंले दियो १ करोड सहयोग



Download our app to get more features

काठमाडौं, ७ फागुन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा सुरु भएको नाफारहित परियोजना काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई बैंक अफ काठमाडौंले १ करोड सहयोग गरेको छ ।

राजधानीमा बुधवार आयोजित बैंकको २५ औं वार्षिकोत्सव कार्यक्रममा सो रकम बराबरको चेक डा. कोइरालालाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण अगाडी बैंकको सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ र अस्पतालका अध्यक्ष डा. कोइरालाबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

वित्तीय संस्थाहरुले कर्पोरेट सोसल रेस्पोन्सिविलिटी अन्तर्गत नाफाको कम्तिमा १ प्रतिशत सामाजिक काममा दिनुपर्ने नियम छ । छोटकरीमा सिएसआर भनिने सो शीर्षक अन्तर्गत बैंकले डा. कोइरालाको गैरनाफामूलक परियोजनालाई सहयोग गरेको हो । सो कार्यक्रममा डा. कोइरालाले नेपालमा वयस्कहरुको उपचार सेवा प्रभावकारी हुँदै गएपनि बाल स्वास्थ्यका क्षेत्रमा अपेक्षाकृत सुधार नभएकोले यस परियोजना सुरु गरिएको बताए । आफु मुुटुरोग विशेषज्ञ भएपनि बालस्वास्थ्यका क्षेत्रमा काम गर्नसके भावी पुस्ता निरोगी हुने विश्वासका साथ महत्वकांक्षी परियोजना सुरु गरिएको उनको भनाइ छ ।

डा. कोइराला नेतृत्वको बाल अस्पताल आगामी ३ वर्षभित्र राजधानीमा र विस्तारै सातै प्रदेशमा विस्तार गर्ने योजना बनाइएको छ । बैंक अफ काठमाडौंले सो अस्पतालको नवजात शिशु सघन उपचार कक्ष निर्माणका लागि १ करोड सहयोग गरेको हो ।  सो अवसरमा बैंकका पदाधिकारीले अस्पताल निर्माणजस्तो पुण्यकर्ममा सहयोग गर्न पाएको भन्दै हर्ष व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भूकम्प पश्चातको उद्दार र पुननिर्माणमा वित्तीय संस्थालाई जिम्मेवार बनाउन थालिएको कर्पोेरेट सोसल रेस्पोन्सिविलीटीको अवधारणाले बैंकहरुमा सामाजिक उत्तरदायित्वको भावना र संस्कार वृद्दि गरेको बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts