नेपालमा हालसम्म एक जनामा मात्रै कोरोना संक्रमण

काठमाडौं, ७ फागुन । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) का लक्षणसँग मिल्ने ३५ नमूना परीक्षण गरिए पनि एक जनामा मात्रै पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार हालसम्म नेपालमा जम्मा एक जनालाई कोभिड–१९ संक्रमण पोजिटिभ देखिएको हो ।
चीनमा गत ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस सक्रमणको पहिलो केस फेला परेको थियो । त्यसयता विश्वभरका ७१ हजार चार सय २९ जनामा कोरोना संक्रमण फैलिसकेको पुष्टि भएको छ । यसबाट हालसक्क चीन बाहिरमा तीन जनाको मृत्यु भएको छ भने जम्मा १७ सय ७५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण विश्वका २५ मुलुकमा फैलिसकेको छ ।
चीनबाट फर्किएका सबै विद्यार्थी स्वस्थ
कोरोना संक्रमणको सुरुवात भएको चीनको हुवेइबाट उद्धार गरी ल्याइएका सबै १७५ नेपाली विद्यार्थी स्वस्थ रहेको पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य परीक्षणबाट यस्तो परिणाम देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।