एक महिना भित्रै प्रधानमन्त्रीको मिर्गौला दोस्रोपटक प्रत्यारोपण गरिने

काठमाडौं, ७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी हुँदैछ ।
लामो समयदेखि डायलासिस गराइराखेका प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
प्रधानमन्त्री ओलीको एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उनका निजी सचिवालयले जनाएको छ । तर, मिर्गौला प्रत्यारोपण कहाँ हुने भन्ने विषयमा केही खुलाइएको छैन ।
मिर्गौला प्रत्यारोपण अघि पूर्व तयारी अनुसार उनको मंगलबार मुटु परीक्षण गरिएको छ । प्रत्यारोपणकै अन्तिम तयारी अन्तर्गत प्रधानमन्त्रीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो ।
उपचारमा संलग्न डा.अरुण शायमीका अनुसार मुटुमा समस्या नभएर मिर्गौला प्रत्यारोपणको पूर्व तयारी गर्दै मुटुको परीक्षण गरिएको छ ।