क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्ः हस्पिटलमा भन्दा यहाँ सुरक्षित र आराम छ

काठमाडौं, ६ फाल्गुन । क्वारेन्टाइनमा रहेका नेपालीहरुले आफूहरु हस्पिटलमा भन्दा यहाँ आरामसँग बसिरहेको सन्देश दिएका छन् ।
आइतबार चीनबाट नेपाल फर्केर भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीहरुले आफूहरुका लागि सरकारले गरेको व्यवस्था निकै राम्रो र सुरक्षित अनुभव भएको बताएका छन् ।
क्वारेन्टाइनमा बसिरहेका एक जना विद्यार्थिले नाम नखुलाउने शतर्मा भने, यहाँ बस्नेहरुकालागि सरकारले गरेको व्यवस्था र सेवा सुविधा निकै राम्रो छ ।’
क्वारेन्टाइनमा बस्दा कसरी १४ दिन कटाउने भन्ने पिर उनमा थियो तर, अहिले सरकारको काम र यहाँ भएका स्वास्थ्यकर्मीहरुले गर्ने हेरचाहले दिन सजिलै राम्रोसँग बितिरहेको छ ।
सरकारले क्वारेन्टाइनमा बस्नेहरुले क्वारेन्टाइन भित्रको कुनैपनि फोटो र सूचना बाहिर नदिन भनेर सूचना नै जारी गरेको छ । तर, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिमकेन्द्र क्वारेन्टाइनमा ती नेपालीलाई राख्ने सुनेपछि त्यहाँका नागरिकले त्यसको विरोध गर्दै आफ्नो घर नै छोडेर अन्तै बास बस्न थालेका छन् ।
यो कुरा क्वारेन्टाइनको अर्का एक जना जो मेडिकल पढ्नका लागि चीन गएका थिए उनलाई हाम्रो डाक्टर न्यूजले सोधेपछि उनले भनिन्, हामी कोरोनाभाइरस संक्रमित होइनौं । त्यहि भएर यहाँ वरपरका कसैमा पनि कोरोना भाइरस सर्छ भन्ने छैन । तपाईंहरु नआत्तिनुस् र आफ्नो घर फर्कनुस् ।’
गत डिसेम्बरमा चीनको वुहान राज्यमा देखिएको कोरोना भाइरसको संक्रमणपछि त्यहाँ अध्ययनका लागि गएका र कामको सिलसिलामा गएका नेपालीका अभिभावकले उनीहरुलाई स्वदेश फर्काउन सरकारलाई निरन्तर दवाव दिँदै आएका थिए । लामो प्रयास र पूर्ण तयारीपछि सरकारले उनीहरुलाई नेपाल फर्काए । तर, भाइरस निकै खतरनाक भएका कारण उनीहरुलाई अभिभावकसँग भेट्न दिने अवस्था अहिलेलाई छैन ।
हुन त सरकारले उनीहरुको थ्रोट स्वाब जाँचकालागि प्रयोगशाला पठाइसकेको छ । अब नतिजा आएपछि उनीहरुमा कुनै संक्रमण भएको नभएको अझ प्रष्ट हुन्छ ।
मनमा अनेक डर र त्रास झेलिरहेका ती नेपालीले क्वारेन्टाइनबाटै सन्देश दिएका छन्, ‘हामी सुरक्षित छौं । आइतबार हाम्रो थ्रोट स्वाब जाँचका लागि लगिएको छ । हामी प्रभावित क्षेत्रमा थियौं तर, कोरोना भाइरसको संक्रमण भएको छैन । सुरक्षा र अन्य नागरिकको सुरक्षाका लागि हामी क्वारेन्टाइनमा छौं ।’
ती विद्यार्थीले क्वारेन्टाइनमा रहेका सबै जनाको दैनिक ज्वरो मापन गर्ने, बिहान खाजा अनि खाना त्यसपछि दिउँसोपछि खाजा अनि खाना दिने गरिएको बताइन् । त्यसकालागि माइकिङको व्यवस्था गरिएको पनि उनले बताइन् ।
उनले भनिन्, ‘माइकबाट एनाउन्स हुन्छ । अनि हामी सबै जना पालै पालो गएर आफ्नो खाना वा खाजा लिएर आउछौं । यहाँ सबै कुरा वेल म्यानेज्ड छ ।’
चीनबाट नेपालीलाई फर्काइपछि धेरै जनामा यो आशंका थियो कि उनीहरुमा पनि कोरोना भाइरसको संक्रमण हुन सक्छ । जसले गर्दा अब काठमाडौंमापनि कोरोना भाइरसको संक्रमितको संख्या बढ्ने छ । तर, मेडिकल पढ्ने नै धेरै विद्यार्थी क्वारेन्टाइनमा बसिरहेका र तिनिहरुले आफूहरुको आगमनले कोहीपनि डराउनु नपर्ने प्रस्ट पारेका छन् ।
डाक्टरहरुले पनि कोरोना भाइरसको संक्रमण कुन अवस्थामा र कसरी सर्छ भनेर बारम्बार जानकारी गराइरहेको तथा सरकारले पनि ठाउँठाउँमा जानकारी मुलक सूचना टाँसेको छ ।
सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार जनावरबाट मानिसमा र मानिसबाट मानिसमै संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले नागरिकले सरसफाइमा विशेष ध्यान दिनुुपर्ने बताउँछन् ।
फ्लू जस्तो मिल्दो जुल्दो भएका कारण कसैले खोक्दा, हाच्छ्यूँ गर्दा मुख छोपेर गर्ने ताकि अरुलाई त्यसले संक्रमण नगरोस् र त्यहाँ छेउछाउँ भएकाहरुलेपनि सँधै मास्कको प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
कोरोना भाइरसक लाग्दैमा मानिसहरुको मृत्यु नै हुन्छ भन्नेपनि कतिजनामा भ्रम रहेको भन्दै डा. पुनले भने, ‘कोरोना भाइरसले संक्रमण गर्दैमा कसैकोपनि मृत्यु नै हुन्छ भन्ने हुँदैन । यसको समयमै उपचार गर्नुपर्छ । त्यसकालागि ज्वरो आउने, रुघाखोकी लागेको, टाउको दुखेको जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जानुपर्छ ।’