क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य परीक्षण हुने: स्वास्थ्य मन्त्रालय

काठमाडौं, ४ माघ । चीनको वुहानबाट ल्याइएका नेपालीहरुको क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै मन्त्रालयले क्वारेन्टाइनमा रहेका नेपालीहरुको उक्त अवधिभर नियमित स्वास्थ्य परीक्षण हुने,शंकास्पद लक्षण देखा परेमा प्रयोगशाला परीक्षणको व्यवस्था तथा अस्पतालमा आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था नेपाल सरकारले मिलाएको जानकारी दिएको छ।
कोरोना भाइरसको संक्रमणका कारण १७ सय ६५ मानिसहरुको मृत्यु भएपश्चात् नेपाल सरकारले शनिबार चीनको वुहानबाट १ सय ७५ जना नेपालीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याएको थियो । उक्त भाइरसको संक्रमण पश्चात् वुहानमा रहेका १ सय ८५ नेपालीहरुले स्वदेश फिर्ता हुनका लागि आवेदन दिएका थिए । जसमा ४ जनाले नेपाल आउन अनिच्छुत रहेको बताएका थिए भने वुहान विमानस्थलमा स्वास्थ्य परीक्षणको क्रममा शंकास्पद लक्षण देखिएका ६ जनालाई चीनमा नै उच्च स्वास्थ्य निगरानीमा राख्ने गरी निगरानीमा राख्ने गरी छोडिएको थियो।