चीनका 'अलपत्र' नेपाली लिन आज विमान चीन जाँदै

काठमाडौं, ३ फाल्गुन । चीनको हुवेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि नेपाली विमान आज चीन जादैछ ।
कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्दार गर्न नेपाल वायु सेवा निगमले चिनियाँ अधिकारीहरूबाट उडान अनुमति पाएप्ीछ विमान त्यसतर्फ जान लागेको हो ।
चीनस्थित नेपाली दूतावासका अनुसार १ सय ८५ जना नेपाली आज स्वदेश फर्कन लागेका छन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० ध्वजावाहक २ सय ७४ सिटर विमान त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।
विमान आज दिउँसो २ः४५ मा काठमाडौंबाट चीनको हुबे प्रान्तको राजधानी वुहानका लागि उडान भर्नेछ ।
२ सय ७४ यात्रु बोक्न सक्ने उक्त विमानमा नेपाली सेनाका विशेष तालिमप्राप्त चार चिकित्सक पनि रहनेछन् । चालक दलका सदस्यका रूपमा तीन क्याप्टेन, छ क्याबिन क्रु, एक इन्जिनियर र एक लोडमास्टर गरी ११ जना पनि विमानमा रहनेछन् ।
विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरेर उनीहरूलाई काठमाडौं ल्याउन लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन्् । चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन् भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइने उनको भनाइ छ ।
वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन् । विमान आइतबार बिहान २ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् ।
उता चीनमा भने अधिकारीहरू र हुबे प्रान्तमा रहेका नेपालीहरूलाई हुबेका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई वुहानमा भेला पारेर स्वदेश फर्काउने तयारीमा छन् ।
त्यसका लागि स्वयंसेवकहरू तोकिएका छन् भने बेइजिङस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेको छ । नेपाल आउन चाहनेमा लगभग सबैजसो विद्यार्थीहरू रहेकाले उनीहरूलाई विश्वविद्यालयबाट सङ्क्रमण नहुने खालको मास्क र ज्याकेटआदि पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिनेछ ।
विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा सङ्क्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
उनीहरूलाई वुहानसम्म आउने बसमा पनि सङ्क्रमण हुन नदिन सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ ।
वुहानस्थित विमानस्थलमा आइपुगेपछि उनीहरूको शरीरको तापक्रम नापेर मात्र विमानमा बस्न दिइनेछ । त्यसपछि विमानमा पनि उनीहरूलाई चिकित्सा टोलीले निरन्तर निगरानी गर्नेछ । विमानमा चालकदलका सदस्यले पनि सुरक्षात्मक ज्याकेट र मास्क लगाएर उडान गर्नेछन् ।
उद्दारकार्यको तयारीमा खटेका कम्तीमा तीन अधिकारीहरूका अनुसार वुहानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विशेष विमान अवतरण भएपछि सुरुमा चिकित्सक टोली बाहिर निस्किनेछ ।
उनीहरूले विमानभन्दा बाहिर धावनमार्गमै विशेष चिकित्सकीय निगरानीको प्रक्रिया पूरा गर्नेछन् र यात्रुलाई ओर्लिन दिनेछन् । त्यसपछि चिकित्सक, चालक दलका सदस्यहरू र हुबेबाट फर्केका सबै जनाले विमानस्थलमा स्थापना गरिएको स्वास्थ्य निगरानी कक्षमा गएर पुनस् तापक्रम मापनजस्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।
उद्धारको तयारीका लागि खटिएका स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरूका अनुसार विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट आएका सबैलाई बसबाट लगिनेछ ।
उनीहरूलाई लिएर जानका लागि पाँचवटा पर्यटक बस तयार अवस्थामा राखिएका छन् ।