भीम अस्पताल भैरहवामा २४ घण्टे ल्याब सेवा शुरु
रुपन्देही १ फागुन । भैरहवामा रहेको भीम अस्पतालमा ल्याव सेवा सुचारु गरिएको छ । हालसम्म ओपिडी सेवा समयमा मात्रै सञ्चालन हुँदै आएकोमा आजबाट ल्याव सेवा (प्रयोगशाला) चौविसै घण्टा सञ्चालनमा आएको हो।
चौबीसैं घण्टे ल्याव सेवाको जिल्ला समन्वय समितिका सभापति एकराज बिश्वकर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्घाटन गरे । अस्पतालको सेवाप्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि आगामी दिनमा बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ। अस्पतालले ल्याबमा ५ पार्टको कुलटर काउन्टर स्वचालित मेसिन सञ्चालन गरेपछि अत्याधुनिक ल्याबसहितको २४ घण्टे सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डिेन्ट डा. नबिन दर्नालले बताए । उनका अनुसार ल्यावबाट अटोमेटिक एनालाइजर, हड्डीसम्बन्धि क्याल्सियम परीक्षण, मुटु सम्बन्धि परीक्षण भईरहेको छ ।
अस्पतालले ल्याव सेवाका लागि ८प्राविधिकलाई ३ सिफ्टमा विभाजन गरेको छ ।अस्पतालले हालसम्म दैनिक सरदरमा ७० जनालाई ल्याब सेवा दिदैं आएको छ । २४ सैं घण्टे सेवा सुरु भएपछि सेवाग्राही बढ्ने अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए । उनले अहिले थाइराइड बाहेकका सबैजसो ल्याब सेवा दिन सक्ने गरी पूर्वाधार तयार गरेर काम अगाडि बढाईएको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका विश्वकर्माले फागुन महिनाभित्रै अस्पताललाई २५ श्ययाबाट ५० शैयामा स्तरोन्नती गर्ने गरी काम अगाडिबढाइएको बताए । अस्पताललाई यस क्षेत्रमै अत्याधुनिक स्तरको बनाउन लागिएको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्यका अध्यक्ष कुलप्रसाद न्यौपानेले भीम अस्पताललाई जिल्लाकै उत्कृष्ठ प्रस्तुती गृहको रुपमा विकास गर्नुृपर्नेमा जोड दिए । अस्पतालले बनाउन लागेको डिपीआरमा नमुना प्रसुती अस्पतालको रुपमा रहेको उनको भनाई छ ।
रुपन्देहीको सबैभन्दा पुरानो उक्त भीम अस्पताल १९९० सालमा ३ शैयाबाट स्थापना भएको थियो । २०३५ सालमा १५, २०४१ मा २५ शैयाको स्वीकृति पाएको छ । १०० शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनिहाल २५ श्ययाको स्वीकृत प्राप्त अस्पतालले सोही दरबन्दीमा ६० वेड सञ्चालन गरिरहेको छ ।भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा(खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको प्रशासन अधिकृत गोविन्द ज्ञवालीलले बताए ।