बुटवलमा ७ हजार बालबालिकालाई खोप र पोलियो थोपा

रुपन्देही, २ फागुन । बुटवलमा एकै दिन ७ हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप खुवाइएको छ ।
विभिन्न ७ वटा केन्द्रहरुमा गरी झन्डै ७ हजार बालबालिकालाई खोप र पोलियो थोपा खुवाइएको बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाले जनाएको छ ।
पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता देखिएको छ । तीन हजार सात सय जनालाई दादुरा–रुवेला र तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइयो ।
उप महानगरका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं. ११ देवी नगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै अभियान प्रभावकारी र सेवा सहज तरिकाले प्रदान गर्न निर्देशन दिए ।
बालबालिकालाई स्वास्थ्यकर्मीहरुसँगै प्रमुख सुवेदी, उप प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले पोलियो विरुद्धको औषधि खुवाएका थिए । सबैले बालबालिकाको स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिंदै होसियारीका साथ सेवा प्रदान गर्न आग्रह गरे ।
बुटवलमा सुरु भएको यो अभियानमा ४० जना तालिमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुसँगै ३० जना स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका सदस्यहरुले सहकार्य गरेको स्वास्थ्य शाखाका कर्मचारी गीता पाण्डेयले बताईन् ।
रुपन्देहीमा तीन चरणमा एक लाख नौ हजार ७ सय ९९ बालबालिकालाई दादुरा–रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ । फागुन १ देखि ९ गतेसम्म सात पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८ सय १४ खोप केन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ । त्यसकालागि ९ सय २८ कर्मचारी र एक हजार ६ सय २८ स्वयंसेवक परिचालन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए ।