दादुरा–रुबेला खोप अभियान पुनः सुरु, अघिल्लो लक्ष्य पूरा नभएपछि ३ वर्ष समय थपियो



Download our app to get more features

काठमाडौं, १ फागुन । सन् २०१९ सम्म मुलुकमा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य पूरा नभएपछि सरकारले दातृ निकायको सहयोगमा थप तीनवर्षे अभियान सुरु गरेको छ । 

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय बैठकले अघिल्लो लक्ष्य पूरा गर्न नसकेका देशलाई आउँदो स्न २०२३ सम्म दादुरा–रुबेला निवारण गरिसक्न दिएको लक्ष्यमा नेपालले पनि प्रतिवद्धता जनाएको हो । नयाँ प्रतिवद्धता अनुरुप अन्तराष्ट्रिय दातृ संस्था गाभी, युनिसेफ लगायतसँगको सहकार्यमा सरकारले बिहीवारबाट खोप अभियान सुरु गरेको हो । खोप अभियानको राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले उद्घाटन गरे । पहिलो चरणमा प्रदेश १, २ र ५ का ३४ जिल्लामा खोप अभियान सुरु भएको छ । दादुरा–रुबेलाका अलावा पहिलो चरण अन्तर्गत तराईमा पर्ने १७ जिल्लामा भने ५ वर्ष मुनीका बालबालिकालाई पोलियो थोपा पनि खुवाइने छ । 

दुई चरणमा कार्यक्रम, २९ लाख बालबालिकालाई खुवाइने
फागुन महिनाभर चल्ने पहिलो चरणमा १६ लाख ८४ हजार ९ महिनादेखि ५ वर्षमुनीका बालकालिकालाई दादुरा–रुबेला खोप र १६ लाख ५० हजारलाई पोलियो थोपा खुवाइने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख झलक गौतमले जानकारी दिए । त्यस्तै दोश्रो चरण अन्तर्गत बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लामा दादुरा–रुबेला खोप अभियान चलाइने छ । त्यसमध्ये २ जिल्लामा पोलिया खोप अभियान पनि चलाइने कार्यतालिका छ । दोश्रो चरणमा १२ लाख ३८ हजार बालबालिकालाई दादुरा–रुबेला खोप र १ लाख ६१ ह्जारलाई पोलियो थोपा खुवाइने अभियान आरम्भ कार्यक्रममा जानकारी दिइयो । 

पहिलो र दोश्रो चरणमा गरी २९ लाख १२ हजार बालबालिकालाई दादुरा–रुबेला र १८ लाख ११ हजारलाई पोलियो थोपा खुवाइने लक्ष्य छ । 

५० हजार खोप केन्द्र, ९ हजार स्वास्थ्यकर्मी परिचालन
देशभरका ५० हजार खोप केन्द्रबाट खोप दिइने खोप शाखाका प्रमुख गौतमले जानकारी दिए । जसका लागि ९ हजार स्वास्थ्यकर्मीका साथै १ लाखभन्दा बढि स्वास्थ्य स्वयंसेविकालाई खटाइने छ । खोप अभियानका लागि ५ हजारजना स्थानीय सुपरभाइजर पनि खटाइएको छ । 

५६ करोड लागत, साँढे १० करोड नेपालले खर्च गर्ने 
दादुरा–रुबेला खोप अभियान २०७६।७७ का लागि कूल लागत ५६ करोड खर्च हुने भएको छ । सो अन्तर्गत २४ करोडको खोप र ३२ करोडर व्यवस्थापनमा खर्च गरिने छ । त्यसका लागि नेपालले व्यवस्थापनमा सरकारले १० करोड र दातृ निकाय गाभीले २२ करोड खर्च गर्नेछ । खोपका खरिदका  लागि भने सरकारले ५५ लाख र गाभीको २३ करोड ४५ लाख खर्च हुनेछ । खोप शाखा प्रमुख गौतमका अनुसार यो खोप अभियानमा ३ लाख २२ हजार भाइल दादुरा–रुबेला खोप र १ लाख ७ हजार भाइल पोलियो थोपा खुवाइने छ । दुईचरणमा हुने कार्यक्रमले ९५ प्रतिशतभन्दा बढि बालबालिकालाई खोपको पहुँचमा ल्याउने लक्ष्य लिइएको छ । 

प्रदेश २ मा सबैभन्दा धेरै दादुरा, बागमतीमा रुबेला धेरै  
सरकारले सन् २०१९ सम्म दादुरा–रुबेला निवारण गर्ने भनेपनि परिणाम भने उल्टो भयो । अघिल्ला वर्षको तुलनामा सन् २०१९ मा झन् धेरै रोगीहरु देखिए । सरकारी तथ्यांकका अनुसार २०१९ को डिसेम्बरसम्म ४ सय २८ जना दादुरा बिरामी देखिए भने ४४ जना रुबेला बिरामी फेला परे । प्रदेश २ मा सबैभन्दा धेरै १ सय ५३ जनामा दादुरा देखियो भने बागमती प्रदेशमा सबैभन्दा धेरै २० जनामा रुबेला देखिएको छ । बागमति प्रदेशमा दादुराका बिरामी पनि २ नं प्रदेशपछि सबैभन्दा धेरै १ सय १० जनालाई देखिएको छ । 

स्वस्थ नागरिक निर्माण गर्ने सरकारको लक्ष्यः राज्यमन्त्री रावल 
खोप अभियानको आरम्भव गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वस्थ नागरिक निर्माण गर्ने सरकारको लक्ष्य रहेको भन्दै त्यस भावनाबाट अघि बढ्न स्वास्थ्य कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले सबै प्रदेश र स्थानीय तहसँगको समन्वयमा कार्यक्रमलाई सफल बनाइने पनि दावी गरे । 
 

Last modified on 2020-02-13 15:37:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts