मुख्यमन्त्री पोखरेलद्वारा खोप अभियानको शुभारम्भ

रुपन्देही, १ फागुन । सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बालबालिकालाई खोप दिएर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार अभियानको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकामा पुग्न सके मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे । यस्तै उनले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरूका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएकोले सटरहरु भत्काएको पनि प्रष्टाए । अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टिकृत गर्न सरकारले राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाएको बताए । उनले भने, ‘अस्पताल अगाडीका सटरहरू एक प्रकारले भन्ने हो भने गन्धे बजार जस्ता थिए, जसका कारण अस्पतालको सेवा प्रभावित भएको थियो ।’ जनताले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य सुविधालाई ती सटरहरुले अवरोध गरेको उनको भनाइ छ ।
यसैबीच रुपन्देहीमा पाँच वर्षमुनिका बालबालिकालाई तीन चरणमा अभियान सञ्चालन गरि दादुरा रुबेला तथा पोलियोविरुद्धको खोप दिइने छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पहिलो चरणमा बिहीबार सुरु भएको अभियान ९ फागुनसम्म चल्ने छ । यस्तै १३ देखि १७ फागुनसम्म दोस्रो तथा १६ देखि २४ फागुनसम्म तेस्रो गरी तीन चरणमा खोप अभियान सञ्चालन हुनेछ । यो अवधिका जिल्लाका एक लाख ३० हजार तीन सय ९८ बालबालिकालाई पोलियोविरुद्धको खोप दिइनेछ भने एक लाख नौ हजार सात सय ९९ बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइने जनाइएको छ ।
खोप अभियान सञ्चालनका लागि जिल्लामा नौ सय दुई जना स्वास्थ्यकर्मी तथा एक हजार ६ सय दुई जना स्वयंसेवक परिचालित हुने छन् । अभियान सञ्चालनका लागि जिल्लाका १२ स्थानमा एईएफआई टिम, ७९ जना स्थानीय निरीक्षक, १० जना जिल्ला स्तरीय निरीक्षक तथा ३२ जना स्थानीय निकाय स्तरका निरीक्षक रहनेछन् ।