प्रसूति गृहको आइभिएफ सेवा पाँच वर्षदेखि बन्द, पुनः सञ्चालन कहिले हुने ठेगान छैन



Download our app to get more features

काठमाडौं, २९ माघ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सञ्चालन गरेको आइभिएफ सेवा करिब पाँच वर्षदेखि बन्द अवस्थामा छ । अस्पतालमा आइभिएफसम्बन्धी विशेषज्ञ चिकित्सक नहुँदा सेवा सञ्चालन रोकिएको हो । 

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार आइभिएफ सेवा सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको खोजी भइरहेको छ । उनले भने, ‘सेवा सञ्चालन हुन अझै ५–६ महिना लाग्छ ।’ आइभिएफ सेन्टरमा कार्यरत चिकित्सक अध्ययनका लागि विदेश गएदेखि नै सेवा सुस्ताएको हो । अध्ययनपछि नेपाल फर्किएर तुरुन्तै राजिनामा दिएपछि सेवा थप प्रभावित भयो । ०७२ सालको भुकम्पले आइभिएफ सेवा प्रदान गरिरहेको भवनमा पनि क्षति पुगेपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको हो । 

आइभिएफमा कार्यरत विशेषज्ञ चिकित्सक अध्ययन बिदा मिलाएर विदेश गएको डा. गौतम बताउँछन् । विदेशबाट फर्किए लगत्तै उनले राजिनामा दिए पनि दुई ब्याच सेवा दिइएको थियो । यो अवधिमा आभिएफमार्फत कुनै पनि महिला गर्भवति भएनन् । उनका अनुसार यो सेवा महंगो छ सेवाग्राहीलाई मार पार्नु भन्दा काम नै नगर्न ठिक लागेको उनको भनाइ छ । 

सुविधा सम्पन्न भवन बन्यो तर आइभिएफ सेवा अनिश्चित 
अस्पतालले ललितपुरको कुपण्डोलमा आइभिएफ सेवाका लागि छुट्टै भवन निर्माण गरेको छ । डा. गौतमका अनुसार नयाँ भवन आइभिएफ सेवाका लागि आवश्यक अन्तराष्ट्रिय मापदण्ड अनुसारको छ । अस्पतालमा आवश्यक सबै उपकरण छन तर दक्ष विशेषज्ञ चिकित्सक अभावमा भवन खाली छ । उनले भने ‘यससम्बन्धी कुनै चिकित्सक भेटिना साथ सेवा सुरु हुन्छ ।’ हुनत डा. गौतम आफै पनि यसका  विशेषज्ञ हुन । अस्पताल निर्देशक समेतको जिम्मेवारी लिनु पर्दा दुवै काम गर्न नसकेको उनको भनाइ छ । 

आइभिएफ सेवाका लागि फेलोसिपमा गएकी चिकित्सक खोइ ?
अस्पतालले आइभिएफमा कार्यरत चिकित्सकलाई अध्ययन (फेलोसिप) का लागि भन्दै एक वर्ष बिदा दिएको थियो । तर फोलोसिप सकेर नेपाल फर्केकी ती डाक्टर एक दिन पनि प्रसुति गृह गइनन् । उनी नेपाल फर्कदा अस्पतालको आइभिएफ सेवाका लागि नयाँ भवन तयार भै सकेको थिएन । उनले आइभिएफ सेवा नै प्रदान गर्नु पर्ने भए अरु कुनै ड्यिुटि नगर्ने बताएकी थिइन् । अस्पतालले उनको यो सर्तलाई पनि मानेको थियो । अस्पतालले आइभिएफ सेवा सुरु नभइन्जेल अन्य सेवामै ड्यिुटि गर्न भनेको थियो । तर उनले यो कुरा नमानेर राजिनामा दिएको अस्पताल स्रोतको भनाइ छ । 

सरकारी स्तरमा पहिलो पटक प्रसूति गृहले आइभिएफ सेवा सञ्चालनमा ल्याएको थियो । सञ्चालन हुँदा पनि अस्पतालको आइभिएफ सफलदर पनि निकै कम थियो । यद्यपि, सुलभ शुल्कमा सेवा दिइरहेको अस्पतालले सेवा सञ्चान नगर्दा निःसन्तान दम्पती महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन् । 

Last modified on 2020-02-12 17:10:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts