कोरोना फैलिन नदिन सरकार संवेदनशील छ ः स्वास्थ्य मन्त्रालय

काठमाडौं,२९ माघ । चीनको बुहान प्रान्तबाट उत्पति भएको नोबल कोराना भाइरस नेपालमा फैलिन नदिन नेपाल सरकार संवेदनशील रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
हाल चीनको २२ प्रान्त तथा २४ मुलुकहरुमा फैलिसकेको उक्त भाइरस नेपालमा फैलिन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संवेदनशील रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । विभिन्न मुलुकहरुले चीनको बुहानमा रहेका आफ्ना नागरिकहरु स्वदेश फर्काइसकेका छन् । नेपाल सरकारले फागुन ३ मा नेपाल एयरलाइसन्सको विमानबाट अध्ययन तथा कामको शिलशिलामा चीनमा रहेका नागरिकहरुलाई फर्काउने तयारी अन्तिम चरणमा पु¥याएको छ। चीनबाट फिर्ता गराइएका नागरिकहरुलाई राख्नका लागि खरिपाटीस्थित नेपाल बिद्युत् प्राधिकरणको भवन खाली गराइएको छ । उक्त विषयलाई लिएर स्थानीयहरुको विरोध आइरहँदा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणका लागि उचित रोकथामको व्यवस्था गरिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेको छ ।