सिन्धुपाल्चोकमा एक हप्तामै ८४ जना बिरामी, कोरोना भाइरसको आशंका गरिएपनि पुष्टि हुन बाँकी

सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हप्तामा ८४ जना बिरामी परेका छन् ।
गाउँपालिका ३ साविकको गुम्बा गाविस वडा नम्बर ८ मा माघ २३ गतेबाट अहिलेसम्म बिरामी पर्नेको संख्या ८४ पुगेको गाउँपालिकाले जनाएको छ ।
रुघाखोकी लाग्ने, अत्यधिक ज्वरोले मानिसहरु बिरामी पर्न थालेकाले कोरोना भाइरसको आशंका गरिएको गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले बताएका छन् ।
नोवेल कोरोना भाइरसको लक्षण जस्तै देखिएकाले गाउँपालिकाले पत्र लेखेर स्वास्थ्य सहयोग माग गरेको छ । यद्यपी स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले नोवेल कोरोना भाइरस नै हो भनेर शंका गर्ने आधार भने नरहेको बताए छन् । उनले गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधिहरु र माक्स खरिद गरि पठाईसकेको जानकारी दिए ।
कोरोना भाइरसको जस्तै लक्षण देखिएपनि त्यहाँका मानिसले चीनसँग आवतजावत बन्द गरिएकाले कोरोना नै हो भन्ने अनुसन्धानबाट मात्रै खुल्ने भन्दै चापागाईंले बिरामी परेका मध्ये ८४ जनाको अवस्था सामान्य रहेको बताए ।
संक्रमण देखिएको व्यक्तिसँग सम्पर्कमा नबस्न र सावधानि अपनाउन सबैलाई आग्रह गरिएको छ । गाउँपालिकाले यो विषयमा अनुसन्धानका लागि विज्ञ र केन्द्र तथा प्रदेश सरकारसँग निरन्तर संवाद भइरहेको जनाएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत लोक बहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन स्वास्थ्य मन्त्रालयसँग माग गरिएकाले नआत्तिन पनि आग्रह गरेका छन् ।