धनुषाको जटही नाकामा रहेको हेल्थ डेस्कमा छैनन् दक्ष जनशक्ति

जनकपुरधाम, २८ माघ । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार नाघिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको २५ देश यस भाईरसबाट प्रभावित छ । पछिल्लो पटक गत आइतबार चीनमा कुक काम गर्ने भारतको बिहार राज्यस्थित चरौत निबासी बलराम मण्डल नेपाल-भारत भिठामोड नाका हुँदै गाउँ फर्केपछि यस क्षेत्रमा पनि सन्त्रास फैलिएको छ । यस घटनालाई दृष्टिगत गर्दै धनुषाको सिमावर्ती क्षेत्रस्थित जटही नाकामा कोरोना भाईरस चेकजाँचका लागि शुक्रबार हेल्थ डेस्क स्थापना समेत गरियो ।
प्रदेश २ को अधिकांश खुल्ला सिमावर्ती क्षेत्रमा कोरोना भाइरस निगरानी एवं चेकजाँचका लागि नगराईन नगरपालिकाले हेल्थ डेस्क सञ्चालन गर्यो तर डेस्क सञ्चालनमा ल्याइएको एक हप्ता बिते पनि अहिलेसम्म दक्ष जनशक्ति नखटाएको स्थानीयको गुनासो छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर विभिन्न प्रकारको टिकाटिप्पणी भईरहेको छ । जनकपुरधाम उपमहानगरपालिका - ४ निवासी बद्रिनाथ झाले सामाजिक सञ्जालमा लेखेका छन्,‘ केन्द्र सरकारले चासो दिएन । अन्य देशले आफ्नो जनताको निम्ति दिनरात लगाएर स्वास्थ्य टोलि परिचालन गरेका छन् । तर हाम्रो प्रदेश सरकार र स्थानिय सरकारद्वारा दुई जना कर्मचारी राखी के उपचार गरिरहेको होलान आफै हेरौ र बुझौँ ।’ अर्का स्थानीय अजय मिश्राले पनि के यो मजाक हो ? प्रदेश २ सरकारलाई मेरो आग्रह थोरै भए पनि यस्तो काममा बिशेषज्ञको सहयोग लिउ, हँसिको पात्र नबनौं भनेर सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।
नगराईन नगरपालिका र सशस्त्र प्रहरीको सहयोगमा जटही नाकामा सञ्चालनमा ल्याइएको कोरोना भाइरस हेल्थ डेस्कमा एक हप्तादेखि ब्यानर मात्र झुण्डयाइएको छ । सोमबार त्यहाँ पुग्दा नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव बिचमा र उनको दुबै छेउमा दुई जना कर्मचारी थिए । माथि कोरोना भाईरस हेल्प डेस्क लेखिएको ब्यानर झुण्डयाइएको थियो । उनीहरुको अगाडीमा एउटा टेबल थियो तर टेबलमा न औषधी थिए न त हेल्प डेस्कमा कोही दक्ष कर्मचारी नै । यस सम्बन्धमा नगराइन नगरपालिकका सिअहेब जुगेश्वर मण्डलले भने, ‘हेल्थ डेस्कमा औषधी किन चाहियो ?’ हामीले त नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई सामान्य चेकजाँच मात्रै गर्ने हो । रुघाखोकी, ज्वरोलगायतका सामान्य रोगहरु मात्र अहिलेसम्म फेला परेको उनले बताए । सो हेल्थ डेस्कमा नगराइन नगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्टद्धय रत्नमणीलाल कर्ण र सितेश मार कर्णलाई खटाइएको छ ।
यसअघि प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीको ११ स्थानमा कोरोना भाइरस चेकजाँचका लागि हेल्प डेक्स स्थापना भइसकेपनि त्यहाँका डेस्कहरुमा पनि यस्तै अबस्था देखिएको छ ।