मन्त्रालयहरुबीच तालमेल नमिल्दा चीनबाट नेपाली फर्काउन ढिलाई, जहाज तयार तर, निर्णय भएन

काठमाडौं, २८ माघ । नोवेल कोरोना भाइरसबाट प्रभावित चीनबाट नेपाली फर्काउने विषयमा मन्त्रालयहरुबीच तालमेल नमिल्दा ढिलाई भएको छ ।
चीनको वुहान राज्य र आसपासका क्षेत्रबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा संस्कृति, पयर्टन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पहिलो पटक बोलेका थिए । उनले गत माघ १८ गते चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा जहाज तयारी अवस्थामा रहेको जानकारी गराएको १० दिन वितिसक्दा समेत नेपाल सरकारले अहिलेसम्म अन्तिम निर्णय गर्न सकेको छैन ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यस क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा मुख्यगरी स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्देशन दिएका थिए । तर, चीनमा रहेका नेपाली कहिलेसम्म नेपाल फर्कन्छन् भन्ने विषय अझै टुुङ्गो लागि सकेको छैन । स्वास्थ्य मन्त्रालयले भने आफ्नो तयारी पूरा गरेको जनाएको छ । चीनबाट फर्कने नेपालीलाई राख्ने स्थानदेखि स्वास्थ्य उपचारमा खटिने र एयरपोर्टबाट क्वारेन्टाइनसम्म ल्याउने एम्बुलेन्स सबै तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले पनि आफ्नो तयारी पूरा भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार गृहको काम विमानस्थलदेखि उनीहरुलाई सुरक्षित क्वारेन्टाइनसम्म पुर्याउने रहेको र त्यो तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयमा यो विषयमा बुुझ्न खोज्दा कुनै पनि कर्मचारी र मन्त्रीसँग सम्पर्क हुन सकेन । यस्तै पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले भने यो विषयमा पर्यटन मन्त्रालयको कुनै भूमिका नरहेको हुनाले स्वास्थ्यसँग नै बुुझ्न प्रतिक्रिया दिए । तर, स्वास्थ्यले भने यो विषयमा स्वास्थ्य मन्त्रालयले मात्रै गरेर नहुने बताएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै स्वास्थ्य एक्लैले चीनबाट नेपाली फर्काउन नसकिने बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यूले नै सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुुभएकाले सबैका सहकार्य आवश्यक छ । तर, अन्य मन्त्रालयको हकमा के हुँदैछ भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौं ।’ यता, चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि वाइड बडी ए–३३० जहाज तयारी अवस्था रहेको नेपाल वायू सेवा निगमले जनाएको छ ।
चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहज पठाउने तयारी भएको नेपाल वायु सेवा निगमले जनाएको हो । चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । तर, निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएपनि सरकारको तर्फबाट आधिकारीक निर्णय नभएकाले आफूहरु कुरिरहेको उनको भनाइ छ । उनले भनिन् ,‘हामी चीनबाट नेपाली ल्याउनका लागि तयारी अवस्थामा छौं । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हाम्रा क्रु मेम्बरहरुपनि तयारी अवस्थामा छन् । २ सय ७० सिट क्षमताको जहाजपनि तयार छ । तर, सरकारले निर्णय नगर्दा हामी प्रतिक्षा गरिरहेका छौं ।’
मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच सोमबार भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको थियो ।