घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको हेलिकप्टरबाट उद्दार

बाजुरा, २८ माघ । बाजुराको बडीमालिका नगरपालिका– ८ मावली घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।
हिमाली गाउँपालिका–६ रुगिन घर भएका २ वर्षीय बालक कृष्टन पाण्डे छतबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागी जिल्ला अस्पताल बाजुरामा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचार सम्भव नभएकाले थप उपचारका लागि उनलाई जिल्ला बाहिर पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइते बालकलाई नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश सरकारले अघि सारेको हवाई सेवा उद्दार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।