धनुषाका १८ स्थानीय तहका ८ लाख ३८ हजार बालबालिकालाई एकैसाथ दादुरा–रुवेलाको खोप



Download our app to get more features

जनकपुरधाम, २८ माघ । धनुषाका १८ वटै स्थानीय तहहरुमा फागुन १ गतेदेखि ३० गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई चरणबद्ध रुपमा दादुरा–रुवेला विरुद्धको खोप लगाउने तयारी सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रमको आयोजना गरी दादुरा–रुवेला विरुद्धको खोप लगाउने तयारी सुरु गरिएको जानकारी दिएको छ । जसअन्तर्गत पहिलो चरणमा फागुन १ गते देखि ९ गते सम्म धनुषाको धनौजी गाउँपालिका,औरही गाउँपालिका,विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिलाबिहारी नगरपालिकामा खोप अभियान सञ्चालन गरिने छ । 

दोस्रो चरणमा फागुन १५ गतेदेखि २३ गतेसम्म नगराइन नगरपालिका,मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १७ देखि २५ सम्म, हंसपुर नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा दादुरा–रुवेला विरुद्धको खोप लगाउने तयारी सुरु गरिएको छ भने तेस्रो चरणमा फागुन ३० गतेदेखि जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १ देखि १६ सम्ममा दादुरा–रुवेला विरुद्धको खोप लगाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख ईन्द्रप्रसाद यादवले बताए । 

खोप लगाउनका लागि जिल्लामा १ हजार २५ वटा खोप केन्द्र निर्धारण गरिएको प्रमुख यादवले बताए । त्यस्तै २ हजार ५० जना स्वयंसेवक र ९ सय ४८ जना महिला स्वास्थ्य स्वयंसेविका खटाईने स्वास्थ्य प्रमुख यादवले जानकारी दिए । उनले ११ प्रकारका रोगहरु विरुद्ध देशैभरी अभियान सञ्चालनमा रहेको समेत बताए । 

देशभरीमा १६ हजार खोपकेन्द्रहरु मासिक रुपमा सञ्चालनमा रहेकोमा धनुषामा मात्रै ५ सय २५ वटा खोपकेन्द्रहरु मासिक रुपमा सञ्चालन हुँदै आएका छन् । 

धनुषामा २ वर्षदेखि ५ वर्षसम्मका ८१ हजार ४ सय १०, ९ महिनादेखि २ वर्षसम्मका ३४ हजार ३ सय २८, २ वर्ष मुनिका ५४ हजार ७ सय ९३, ९ महिनादेखि ५ वर्षसम्मका १ लाख १५ हजार ७ सय ७० र जन्मेदेखि ५ वर्षसम्मका १ लाख ३६ हजार २ सय ३५ गरी कुल ८ लाख ३८ हजार ८४ जना बालबालिकाहरु लक्षित समूहमा पर्दछन् । 

देशभरीमा २० प्रतिशत बालबालिकाहरु अहिलेपनि पूर्ण खोपबाट बञ्चित रहेका छन् भने १ प्रतिशत बालबालिकाहरु खोपको पहुँचबाट टाढा रहेको एक तथ्यांकले देखाएको छ ।
 

Last modified on 2020-02-11 07:31:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts