हङकङ फ्लुबाट यसरी बच्न सकिन्छ (भिडियो सहित)

What's This?


Download our app to get more features

चैत्र १, काठमाण्डौं । सिजनल फ्लु भन्दा कडा फ्लुको रुपमा हङकङ फ्लु देखापरेपछि चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय काठमाण्डौंलगायत मुलुकका विभिन्न स्थानमा देखा परेका फ्लुहरुमध्ये हङकङ फ्लुको संक्रमणले धेरै मानिहरु बिरामी पर्न थालेका छन् । सामान्य रुघा खोकीसँगै ज्वरो आउने लक्षणका बिरामीहरुको विभिन्न अस्पतालमा चाप बढ्न थालेको छ ।

 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०१२ मा नेपालमा १४ जना बिरामीमा देखिएको यो फ्लुले हाल १२ हजार मानिस प्रभावित भएका छन् । फ्लुका बिरामीको संख्या बढ्दै गएपनि काठमाण्डौं उपत्यकाको यकिन तथ्यांक भने नआएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । 


के हो हङकङ फ्लु ?

इन्फ्लुएन्जा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन प्रकारका हुन्छन् । त्यसमा पनि ‘ए’ र ‘बी’ इन्फ्लुएन्जाले मानिसलाई बढी संक्रमण गर्छ । दुईमध्ये पनि ‘बी’ इन्फ्लुएन्जाले वर्षमा दुई–तीन पटकसम्म असर गरेको देखिन्छ । स्वाइन फ्लु (एचवान एनवान) र हङकङ फ्लु (एचथ्री एनटु) इन्फ्लुएन्जा ‘ए’ अन्र्तगत पर्दछ । 
सन् २०१५÷०१६ मा स्वाइन फ्लुले भन्दा यही फ्लुले बढी प्रभाव पारेको छ । यो १९६८ देखि १९७० सम्म विश्वव्यापी रूपमा फैलिएको थियो । यस अवधिमा करिब ४० लाख मानिसको ज्यान गएको अनुमानित तथ्यांक छ । पहिलो पटक हङकङमा देखिएको हुनाले यो रोगको नाम हङकङ फ्लु रहन गएको हो । 
रोचक कुरा के छ भने यसले झन्डै दुई सातामा पाँच लाखभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । यो भाइरसको प्रभाव सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा परेको थियो । हरेक वर्ष देखा पर्दै आएकाले यसलाई विश्व स्वास्थ्य संगठनले मौसमी फ्लु भन्दै आएको छ ।

 
लक्षणहरू
बिरामीमा उच्च ज्वरो आउनुका साथै घाँटी खसखस गर्न गथल्छ । यसैगरी यो फ्लुको संक्रमण बढेसँगै मधुमेह तथा अन्य गम्भीर रोगका बिरामीहरुमा श्वासप्रश्वासमा समस्या देखिएर शरीर दुख्न थाल्छ । बिरामीको छाती तथा टाउको दुख्नुका साथै समयमा नै ध्यान नदिए निमोनिया हुन सक्ने चिकित्सकहरुको भनाई छ । बिरामीले उपचारमा ध्यान नदिए संक्रमणका कारण मृत्यु पनि हुन सक्छ ।


कसरी बच्ने ?
सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार अन्य फ्लुजस्तो हङकङ फ्लुबाट अत्तिहाल्नुपर्ने अवस्था भने हुँदैन । यो हरेक वर्ष देखा पर्दै आएको छ । हामीमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई दह्रो बनाउन सकिएमा यसबाट सजिलै बच्न सकिने उनले बताए ।


रोग निदान कसरी गर्ने ?
संक्रमित व्यक्तिको ‘कफ’लाई प्रयोगशालामा परीक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । पहिचान भइसकेको व्यक्तिको परिवारका सदस्यहरूमा पनि मिल्दोजुल्दो लक्षण देखिएमा त्यसलाई निदान गर्न सहज हुन्छ । कुनै एक क्षेत्रमा यसको महामारी फैलिएको र संक्रमित क्षेत्रबाट आएको व्यक्तिमा लक्षण देखिएमा रोग लागेको आशंका गर्न सकिन्छ । हाल काठमाडौं, दोलखा र अछाम र दैलेखलगायतका क्षेत्रमा यसको संक्रमण प्रमाणित भइसकेको छ । यदि यसकै जस्तो लक्षण भए पनि प्रयोगशालाबाट ‘हङकङ फ्लु’ भएको प्रमाणित हुन सकेन भने अन्य संक्रमणको परीक्षण गर्नुपर्छ । लक्षणहरू अन्य सरुवा रोगकै जस्तो धेरै मिल्दोजुल्दो पनि हुन्छन् ।

उपचार तथा सुरक्षा
लक्षणका आधारमा उपचार गरिन्छ । सामान्य छ भने घरेलु उपचार र कडा खालको छ भने स्वास्थ्यकर्मीको सम्पर्कमा रही उपचार गर्न सकिन्छ । सामान्य भनेको ज्वरो कम भएमा (१०० डिग्रीभन्दा कम) र कडा खोकी नभएको, श्वासप्रश्वास अवरोध नभएकोलाई बुझिन्छ । यस्तो बेलामा घरमा प्रसस्त झोल कुरा खाएर आराम गर्नुपर्छ । त्यस्तै, कडा ज्वरो भएको (१०० डिग्रीभन्दा माथि) तथा कडा खोकी, श्वासप्रश्वासमा अवरोध भए स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्छ । संक्रमित भइसकेको अवस्थामा परिवारका अन्य सदस्यहरूलाई संक्रमण फैलन नदिनु राम्रो हुन्छ ।

 

Last modified on 2016-03-15 17:47:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts