सरकारी अस्पतालको नाम र पद देखाई निजीमा काम गर्ने डाक्टरलाई मेडिकल काउन्सिलले अनुगमन गर्ने
सरकारी गाडी प्रयोग गर्नेले यातायात भत्ता लिन नपाइने
काठमाडौं, २७ माघ । विभिन्न सरकारी अस्पतालहरुमा काम गर्ने चिकित्सकले सरकारी पदनाम र अस्पतालको नाम राखी निजीमा काम गर्ने गरेको पाइएको भन्दै त्यस उपर सरकारले नियन्त्रण गर्ने भएको छ ।
सरकारी समयबाहेकको समयमा निजीमा काम गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने भन्ने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रमा सरकारी अस्पताल र पदनाम उल्लेख गरेर बिरामी आकर्षित गर्नपनि रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रिस्तरीय निर्णयलाई आधार बनाई १८ वटा सरकार मातहतका स्वास्थ्य संस्था र सम्बन्धित विभाग, केन्द्र र महाशाखाहरुलाई सोमवार विभिन्न ९ वटा निर्देशन सहितको परिपत्र गरेको हो ।
मन्त्रालयले सरकारी चिकित्सकले स्वीकृति लिए नलिएको, निजी अस्पतालको बोर्डमा सरकारी अस्पताल र चिकित्सकको पदनाम राखे नराखेको अनुगमन गर्ने जिम्मा मेडिकल काउन्सिललाई दिने र यी विषयहरु चिकित्सक आचार संहितमा पनि उल्लेख गरिने जनाएको छ ।
यसबाहेक मन्त्रालयको स्वीकृति बिना गैरसरकारी वा दातृ निकायको सार्वजनिक कार्यक्रममा मन्त्रालयको लोगो प्रयोग भएको भन्दै त्यसमा पनि अनिवार्य पूर्वस्वीकृतिका लिनुपर्ने निर्णय गरिएको छ । त्यस्तै विभिन्न ऐन अनुरुप मन्त्रालय अन्तर्गतका निकायले निर्देशिका तथा कार्यविधि बनाउनुपूर्व पनि मन्त्रालयको स्वीकृति अनिवार्य गर्न परिपत्र गरिएको छ । त्यस्तै मन्त्रालय अन्तर्गतका कर्मचारीले विदेश जाँदा वा विभिन्न कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने, त्यसो नभएमा विभागीय कार्वाही गरिनेपनि निर्णय गरिएको छ । त्यस्तै स्वदेश भित्रकै कार्यक्रममा सहभागी हुँदा कार्यक्रम आयोजकको निमन्त्रणा तथा कार्यलय प्रमुखको स्वीकृति अनिवार्य हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
त्यस्तै मन्त्रालय मातहतका निकायले गर्ने तालिम, गोष्ठी लगायत कार्यक्रममा परिणामभन्दा पनि उद्घाटन, आसनग्रहण, सम्बोधनमा ध्यान गएको भन्दै त्यस्ता प्रकृया हटाई कार्यक्रम परिणाममूलक बनाउनपनि निर्देश गरिएको छ । त्यस्तै अख्तियारवालाको स्वीकृति बिना विभन्नि संघ, संस्था, दातृ निकाय लगायतसँग अध्ययन, तालिम, भ्रमण लगायतका सुविधा नलिन पनि परिपत्र गरिएको छ । त्यस्तै मन्त्रीस्तरीय निर्णयमा सरकारी गाडीको उपभोग गर्ने कर्मचारीले विभिन्न कार्यक्रममा गएर यातायातबापतको भत्ता बुझ्ने गरेको पाइएको भन्दै सो कार्य पनि नगर्न नगराउन मन्त्रालयले परिपत्र गरेको हो ।
स्वास्थ्य मन्त्रालय अन्गर्गतका विभाग, महाशाखा, केन्द्रका साथै सरकारी अस्पताल र सरकारी स्वस्थ्य प्रतिष्ठानहरुलाई उल्लेखित व्यहोराको परिपत्र गरिएको हो ।