कोरोना भाइरस संक्रमितलाई राख्न ३६ अस्पतालमा १ सय ४७ आइसोलेसन बेड, सबैभन्दा धेरै ह्याम्समा

काठमाडौं, २७ माघ । चीनबाट नेपाल फर्काउने लगायत नोवेल कोरोना भाइरसका सम्भावित संक्रमितलाई निगरानीमा राख्न र उपचार गर्न राजधानीका ५ वटा हव अस्पतालसँगै ३६ वटा अस्पतालमा वार्डको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हव अस्पतालसँगै बाँकी ३१ वटा स्याटेलाइट अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्डको व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालिन परिचालन केन्द्रका सहायक प्रवक्ता सागर दाहालले जानकारी दिए । जस अनुसार सरकारी संयन्त्र अन्तर्गत सञ्चालित वीरेन्द्र सैनिक अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल र त्रिवि शिक्षण अस्पताल हब अस्पतालका रुपमा तयार गरिएको छ । भने अन्य सरकारी तथा निजी गरि ३१ अस्पताललाई स्याटेलाइट अस्पताल मानिएको छ । सहायक प्रवक्ता दाहालले भने, 'हामीले राजधानीका अस्पतालहरुलाई कसले कति बेड उपलब्ध गराउनसक्ने भनि सोधेका थियौं । त्यस अनुसार यी अस्पतालहरुले आफ्नो आइसोलेसन बेडको संख्यासहित हामीलाई जानकारी गराएका हुन् । अब हामी कम्तिमा एकसय ४७ जना संम्भावित वा संक्रमितलाई एकैपटक व्यवस्थापन गर्न सक्छौं ।'
हब र स्याटेलाइट अस्पतालका रुपमा सूचिकृत अस्पतालहरुमध्ये सबैभन्दा धेरै निजी क्षेत्रबाट सञ्चालित ह्याम्स अस्पतालले बेडको व्यवस्थापन गरेको छ । उनले भाइरस संक्रमितका लागि उपचार गर्न भन्दै ३० वटा आइसोलेसन बेड व्यवस्था गरेको छ । तर, हबका रुपमा सूचिकृत त्रिवि शिक्षण अस्पतालले भने कुनैपनि बेडको व्यवस्था नगरिएको पाइएको हो ।
साथै आपतकालिन व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमित वा सम्भावितलाई परीक्षण, निगरानी र उपचारका गर्नका लागि स्वास्थ्य जनशक्तिलाई तालिम दिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनको प्रोटोकलका आधारमा नेपाल सरकारले तयार पारेको उपचार प्राटोकलका आधारमा एम्बुलेन्स चालकदेखि, पारामेडिक्स तथा चिकित्सकसम्मलाई तालिम दिइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तालिम सञ्चालन गरेको हो ।