कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन ३ फागुनमा नेवानिको विमान जादै

काठमाडौं, २७ माघ । कोरोना भाइरस प्रभावित चीनको हुवेइ प्रान्तको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन नेपाल वायू सेवा निगमको विमान ३ फागुनमा जाने भएको छ । नेपाल वायू सेवा निगमको वइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात ३ फागुनमा चीन जाने पर्यटन मन्त्रालयले जनाएको छ ।
विद्यार्थी उद्धारका लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका प्रतिनिधि रहेको समिति गठन गरिएको छ । समितिमा नेपाल वायू सेवा निगमका प्रतिनिधिहरु पनि छन् । वुहानबाट १८० नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको हो । वुहानबाट उद्धार गरिनेमा अधिकांश विद्यार्थी छन् । उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकले पनि छराछोरीको उद्धार गरिदिन माग गर्दै गृह, पर्यटन, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।
स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याइएका विद्यार्थीको स्वास्थ्य परीक्षण र निगराका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखीकरण तालिमसमेत दिने जनाएको छ ।