सयभन्दा बढी औषधि उत्पादन गर्दै आएको औषधि लिमिटेड ६ प्रकारमा खुम्चियो

काठमाडौं, २७ माघ । नेपाल औषधि लिमिटेडले गुण म्यानुफ्याक्चरिङ्ग प्राक्टिस (जीएमपी)लाइसेन्स नपाउँदा नयाँ औषधिको उत्पादन गर्न सकिरहेको छैन । जीएपीका लागि आवश्यक आधारभुत तयारी पुरा भइसकेको र औषधि व्यवस्था विभागलाई पत्र पठाइ सक्दा पनि विभागबाट विशेष अनुगमन नहुँदा औषधि उत्पादन रोकिएको हो।
नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्यालका अनुसार जीएपी लाइसेन्स पाउन अझै ६ महिना लाग्ने स्थिति छ । लाइसेन्स पाएपछि मात्रै नयाँ औषधि उत्पादनले गति लिने अर्यालको भनाइ छ । जीएमपी लाइसेन्स पाउन कम्पनीमा कार्यरत जनशक्तिको अवस्था,कम्पनीमा रहेको सेवा सुविधा,गुणात्मक क्षमता नियन्त्रण, आधारभुत पक्ष लगायतको अनुगमन गरिन्छ । अनुगमनबाट उपयुक्त ठहरिए विभागले कुनै पनि कम्पनीलाई नयाँ उत्पादनको स्वीकृति दिने अर्याल बताउँछन्।
१० वर्षअघि नै सय भन्दा बढी औषधि उत्पादन गरेको औषधि लिमिटेड
हाल सिटामोल,सिटाप्लस,जीवनजल,ग्लिसिरिन लगायत आधा दर्जन औषधि उत्पादनमा सिमित बनेको छ । औषधि व्यवस्था विभागले कुनै पनि कम्पनीलाई उत्पादन अनुमति दिनुअघि कम्पनीको गुणात्मक क्षमता अनुगमन गर्छ । औषधि लिमिटेडले उत्पादन गरेका औषधिको म्याद दुई वर्ष मात्रै हुने भएकोले पनि औषधि उत्पादनमा लिमिटेड पछाडि पर्दै गएको अर्याल स्वीकार गर्छन् । ठूलो संख्यामा औषधि उत्पादनको क्षमता लिमिटेडको भएपनि आवश्यक अनुसार गुणात्मक क्षमता पुरा गर्न नसकेका कारण लिमिटेडको उत्पादन सयबाट ६ मा खुम्चिएको अर्यालको तर्क छ । नयाँ औषधि उत्पादनको चारवर्ष पश्चात् मात्रै कम्पनीले उत्पादन बजारमा ल्याउन पाउने व्यवस्था विभागले गरेको छ।
जीएमपी भन्नाले गुड मेनुफयाक्चरिङ प्राक्टिस् भन्ने बुझिन्छ । जसलाई औषधि उत्पादनका लागि आवश्यक सरसफाई समेत भनेर बुझ्न सकिन्छ अर्थात् यसलाई औषधि उत्पादन संहितासमेत भनिन्छ । जीएमपी उत्पादनका लागि आवश्यक संहितामा औषधिको भण्डारण गरिने तरिका,त्यसका लागि आवश्यक तापक्रम,औषधि उत्पादन भइरहेको ठाउँको हावाभित्र आउन नहुने,औषधि उत्पादन हुने ठाउँमा कति मान्छे जान मिल्ने लगायतका विषय समावेश गरिएको हुन्छ ।