बाजुरामा भाइरल प्रभावितका लागि घरमै सेवा
शंकास्पद बिरामीको नमूना प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाईदै

बाजुरा, २७ माघ । बाजुराको हिमाली गाउँपालिकाका भाइरल प्रभावित क्षेत्रमा चिकित्सकको टोली पुगेर उपचार गरिरहेको छ ।
गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुएन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँमा पुगेर डाक्टरसहितको टोलीले उपचार गरिरहेको हिमाली गाँउपालिका स्वास्थ्य संयोजक राज भण्डारीले बताए । आफुहरुले उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिइरहेको उनले बताए ।
आइतबारदेखि बिहिबारसम्म गाउँपालिकाको केन्द्र धुला चौरमै डाक्टरसहितको स्वास्थ्यकर्मी टिमले उपचार गरिरहेको थियो । शुक्रबारदेखि विभिन्न गाउँमै पुगेर उपचार र स्वास्थ्य शिक्षा दिँदै आएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन् ।
बाजुराको सबैभन्दा दुर्गम गाउँपालिका रुपमा रहेको हिमाली गाउँपालिकाका गाउँमा पहिलो पटक डाक्टर पुगेर सेवा समेत दिइरहेका छन् । स्वास्थ्य शाखा प्रमुख राज भण्डारीका अनुसार शुक्रबार गाउँपालिका–४ को बोर्ता गाउँमा स्वास्थ्य शिविर सञ्चालनगरि २ सय ३७ जनाको उपचार गरिएको थियो ।
त्यसैगरि शनिबार फैतीगाउँमा १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको छ । जसमध्ये ४ जना शंकास्पद बिरामीको नमुना लिइ सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ ।
त्यस्तै आइतबार पनि वडा नम्बर ६ धिमगाउँमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । जहाँ २ सय भन्दा बढि बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।
यसरी शिविर संचालल पश्चात पूर्णरुपमा भाइरल नियन्त्रण नभएपनि पहिलाभन्दा धेरै नियन्त्रणमा आइसकेको बताइएको छ ।