मानसिक अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव, ९ जनाको काम ५ जनाले गर्दै

काठमाडौं, २६ माघ । नेपालको एक मात्रै केन्द्रीय मानसिक रोग अस्पताल लगनखेलमा यतिबेला विशेषज्ञ चिकित्सक अभावले उपचार सेवा नै प्रभावित हुने अवस्था छ । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरवन्दी भए पनि पाँच जनाले मात्रै सेवा दिनु पर्दा यस्तो अवस्था आएको हो।
सरकारले मानसिक अस्पताललाई प्राथमिकतामा नराखेका कारण प्रभावकारी रुपमा सेवा प्रदान गर्न नसकेको अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ बताउँछन् । उनले भने, ‘सरकारले लोक सेवा आयोगमार्फत रिक्त पदमा जनशक्ति पूर्ति गर्न नसक्दा अस्पतालको सेवा प्रभावित बनिरहेको छ ।’ मानसिक रोग उपचारको क्षेत्रमा कार्यरत चिकित्सकहरूलाई सरकारले विशेष सेवा सुविधा दिन नसकेका कारण सरकारी अस्पतालमा चिकित्सकहरुको आकर्षण कम भएको श्रेष्ठको अनुभव छ । उनले थपे, ‘पढ्दा लागेको खर्च अनुसारको प्रतिफल पाउनका लागि पनि चिकित्सकहरूको रोजाई निजी अस्पताल हुने गरेको छ।’
नेपालमा १५० जना मानसिक रोग विशेषज्ञ
नेपालमा करिब १५० को हाराहारीमा मानसिक रोग विशेषज्ञहरू भए पनि सरकारी अस्पतालमा सेवा सुविधा खासै नभएका कारण उनीहरु निजीमा काम गर्न बढी रुचाउँछन् । सरकारी अस्पताल उनीहरूको रोजाइमै नपर्ने डा. श्रेष्ठले बताए । मानसिक अस्पतालमा करिब ७० जना चिकित्सक र कर्मचारी स्थायी दरबन्दीमा कार्यरत छन् भने ३० जना निजी तथा करार सेवामा छन् ।
मासिक करिब २७ सय बिरामीले सेवा लिने यस अस्पतालले कडा खालका मानसिक रोगीलाई भर्ना नै लिएर उपचार गराउँछ । कूल ५० शैय्यामा सञ्चालित अस्पतालमा शैय बढाएर सय पु¥याउनु पर्ने निर्देशक श्रेष्ठ बताउँछन् । सय शैय्याको अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव लगिसके पनि सुनुवाई हुन नसकेकोमा निर्देशक श्रेष्ठको गुनासो छ । २०७६ को मंसिर, पुस र माघ गरी तीन महिनाको तथ्यांक अनुसार उपचारका लागि अस्पतालको ओपिडीमा ४०२१ पुरुष, ३८८२ आएका थिए ।
आधारभुत आवश्यकता पु¥याउन समेत सरकारले बेवास्ता गरे पनि अस्पतालले उपचार सेवालाई चुस्त बनाउन कोसिस गरिरहेको निर्देशक श्रेष्ठको भनाइ छ । नेपालमा मानसिक रोगीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाले मानसिक अस्पताल सरकारको प्राथमिकतामा पर्नुपर्ने उनको जोड छ।