सुदूरपश्चिमका अस्पतालमा कोरोना भाईरसका लागी छुट्टै उपचार कक्ष स्थापना गरिने
धनगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले चीनमा फैलिएको कोरोना भाईरसको संक्रमण हुन नदिन आवश्यक तयारी थालेको छ। प्रदेशमा कोरोना भाईरस फैलिन नदिनका लागि आवश्यक पर्ने पूर्व तयारी थालिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले धनगढी विमानस्थलमा यात्रुहरुलाई लक्षित गर्दै हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका आज बिहान भएको छलफलमा मन्त्रालयका तर्फबाट स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना भाईरसको संक्रमण फैलिन नदिन भईरहेको तयारीका बारेमा जानकारी गराएका थिए।छलफलमा सहभागी सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशीका अनुसार कार्कीले मुख्यमन्त्री भट्टलाई कोरोना भाईरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने, सेती प्रादेशिक अस्पताल, महाकाली र टीकापुर अस्पतालमा चेकजाँचका लागि छुट्टै वार्ड स्थापना गर्ने तयारीका बारेमा जानकारी गराएका थिए।
यस्तै बैठकमा कार्कीले मन्त्रालयले मातहतका जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल लगायतका निकायलाई जनचेतनामुलक कार्यक्रम गर्न, मानिसहरुको बढि भीडभाड हुने क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरिने, ज्वरोका विरामीलाई प्राथमिकतामा राखेर उपचार गर्न र कोरोना भाईरस नियन्त्रणका लागि आवश्यक पर्ने सबै पूर्व तयारी गर्न आवश्यक निर्देशन दिईसकेको विषयमा पनि मुख्यमन्त्रीलाई बताएको जोशीले जानकारी दिए।
छलफलका मुख्यमन्त्री भट्टले बाजुरामा फैलिएको भाईरल ज्वरोका विषयमा पनि चासो राखेको थिए। उक्त विषयमा स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भाईरल ज्वरो नियन्त्रणमा आईसकेको अवगत गराएका थिए।
मुख्यमन्त्रीले डाँकेको बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, निमित्त सचिव झंकरबहादुर विष्ट, स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्की, मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख चेतराज जोशी, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशी, मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डे लगायतको उपस्थिती रहेको थियो।