कुष्ठरोगीको पीडा : न अन्न छ, न कपडा
मिथिला कल्याण आश्रमका कोष्ठरोगी भिख मागेर गुजरा चलाउँदै

जनकपुरधाम, २४ माघ। जनकपुरधाम उपमहानगरपालिका–७ स्थित कुष्ठरोगीहरुको संस्था मिथिला कल्याण आश्रमका १२ परिवारका ५० जना कुष्ठरोगीको दैनिकी कष्टकर बनेको छ । कल्याण आश्रम नाम दिए पनि आश्रितहरु कोही भिख मागेर गुजारा गर्दै आएका छन् भने कोही कवाडा संकलन गरि जीवनयापन गरिरहेका छन् ।
दैनिक गुजारा चलाउन भिख माग्नुको विकल्प नरहेको उनीहरुको दुखेसो छ । आश्रममा रहेका कुष्ठरोगीहरुका लागि कुनै निकायले सहयोग नगरेका कारण यस्तो अवस्था आएको हो । आश्रममा बिरामीहरु जहानपरिवारसँगै बस्दै आएका छन । परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण बालबलिकाहरु विद्यालय जादैनन् । तर प्रदेश २ ले प्रदेशभर बेटी पढाउ बेटी बचाउ अभियान चलाइरहेको छ ।
१२ वर्ष अघि जमीरिया देवीले स्थापना गरेको यो संस्था कुष्ठरोगीहरुलाई नै सुम्पेकी थिइन । कुष्ठरोगी वेचन मण्डलका अनुसार कुष्ठरोगले अपांग बनाएदेखि संस्थाकै भर छ । तर पछिल्लो समय सहयोग गर्ने निकाय नभएपछि भिख मागेर गुजार चलाउनु परेको छ । सरकारले त कहिल्यै पनि सहयोग नगरेको उनले दुःखेसो गरे ।
यसैगरि अर्का कुष्ठरोगी वृद्धा चाइना सदाका अनुसार सरकारबाट केही पाउला भनि आसैआसमा बुढो भइयो तर अहिलेसम्म कुनै सहयोग भएन । उनले नेपाली नागरिकता देखाउदै भनिन ‘नेपाली नागरिक भएर पनि सरकारले हेरेन । भिख मागेर बाँकी उमेर काटने प्रयास गर्दैछु ।’
आश्रममा १० बर्षदेखि बस्दै आएका प्रकाश मण्डलले गुजारा चलाउन धौ–धौ परिरहेको बताए । धेरै दुःख र पीडा भए पनि सरकारले बुझ्न समेत नआएको उनले बताए ।
‘स्थानीय जनप्रतिनिधि निर्वाचनपछि फर्केर पनि आएनन्’
वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह निर्वाचनका बेला भोट माग्न आएपनि विजयी भएपनि एक पटक पनि नआएको उनीहरुको भनाइ छ । भोट दिए पनि सहयोगका लागि केहि पहल नगरेको कुष्ठरोगीहरुको गुनासो छ । मुलुकमा स्थानीय, प्रदेश तथा संघ गरी तीन तहको सरकार गठन भए पनि सम्बन्धित ठाउँमा ध्यान नदिएपछि संघीयताको कुनै प्रभाव नपरेको उनीहरुको भनाइ छ ।