गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको लमही सेन्टरमा डायलासिस सेवा सुरु



Download our app to get more features

रुपन्देही, २४ माघ । दाङको लमहीमा स्थापना भएको लमही सामुदायिक डायलासिस सेन्टरले सेवा सुरु भएको छ ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले स्थापना गरेको सेन्टरको औपचारिक उद्घाटन भने माघ २९ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा १० वटा डायलासिस मेशिन जडान गरी सेवा सुभारम्भ गरिएको हो । 

सेन्टर शुभारम्भ गरिएको दिन बिहीबार आठजना बिरामीको मिर्गाैलाको डायलासिस गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । अध्यक्ष आलमका अनुसार करिब ५ करोडको लागतमा स्थापित सेन्टरबाट दैनिक ३० जना बिरामीको नियमित डायलासिस गर्न सकिने बताए । 

हाल तुलसीपुर र घोराही अस्पतालमा दुईदुई वटा डायलासिस मेसिन सञ्चालनमा रहेपनि बिरामीहरुको चाप धेरै भएकोले दाङ, प्यूठान, सल्यान, रोल्पा, रुकुम लगायतका क्षेत्रबाट समेत बुटवल, नेपालगञ्ज, काठमाण्डौमा डायलासिस गराउन जान बाध्य थिए । 
लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी.ले बुटवलमा स्थापित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले लमहीमा संचालन गरेको डायलासिस सेन्टरबाट पश्चिम क्षेत्रका विरामीहरुलाई राहत मिल्ने भन्दै खुशी व्यक्त गरे ।

सरकारले नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिनुपर्नेमा सामुदायिक स्तरबाट संचालित संस्था र अस्पतालले दिएकोप्रति उनले प्रशंसा गरे ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले स्वास्थ्य सेवाको सहज पहुँच नपुगेका स्थानमा सेवा पु¥याउने उद्देश्यले रोटरीको सहयोगमा लमहीमा डायलासिस सेन्टर स्थापना गरिएको बताए । हाल १० वटा मेशिनबाट बिरामीहरुको मिर्गाैला डायलासिस सेवा शुरु गरिएपनि आवश्यकताको आधारमा थप मेशिन समेत जडान गर्न सकिने बताए । 

रोटरी क्लब अफ लमहीका अध्यक्ष रवी लाल आचार्यले डायलासिस सेन्टर सञ्चालनकै लागि रोटरी क्लब गठन गरिएको जानकारी दिँदै गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थासँग गर्न पाएको सहकार्यप्रति खुशी व्यक्त गरे ।

पश्चिम क्षेत्रका बिरामीहरुको चाप र मागलाई मध्यनजर गर्दै डायलासिस सेन्टर संचालन गरिएको कार्यक्रम संयोजक दिनेशराज रेग्मीले बताए । बुटवलदेखि पश्चिम घोराही र तुलसीपुर अस्पतालमा दुईदुई वटा डायलासिस मात्र रहेको अवस्थामा १० वटा मेशिन सहित लमहीमा स्थापना गरिएको सेन्टरबाट पश्चिम क्षेत्रका मिर्गाैलाका बिरामीहरु लाभान्वित हुने छन् ।

मिर्गाैलाका बिरामीले हप्तामा २ देखि ३ पटक सम्म डायलासिस गर्नुपर्ने भएकोले कतिपय बिरामी डायलासिस सेवा उपलब्ध भएको क्षेत्रमै बस्न बाध्य छन् भने कतिपय नियमित रुपमा आवतजावत गर्न बाध्य थिए । 

लमहीमा डायलासिस सेवा सुरु भएपछि बिरामीहरुको आर्थिक सँगै समयको समेत बचत हुने छ । 

Last modified on 2020-02-07 07:44:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts