कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप लिएको छैनः डब्लुएचओ

काठमाडौं, २२ माघ । विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवेल कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप नलिएको जनाएको छ ।
डब्लुएचओले सूचना जारी गर्दै गलत हल्ला र सूचनालाई लिएर सावधान रहन पनि सबैलाई आग्रह गरेको छ ।
डब्लुएचओका संक्रामक रोगको सामना गर्नका लागि व्यवस्था गर्ने विभागका अध्यक्ष डाक्टर सोफी ब्रायन्डले अहिले सम्म कोरोनाले महामारीको रुप लिएको विषयमा कुनै प्रमाण फेला नपरेका स्पष्ट पारिन् ।
डाक्टर सोफीका अनुसार जुन मानिसमा यो भाइरस भेटिएको छ उनीहरुले मास्कको प्रयोग गर्नु पर्छ तर, यसले शत प्रतिशत सुरक्षा भने हुँदैन । उनले पटक पटक हात धोइ रहनाले र सरसफाइमा ध्यान दिनु बढी आवश्यक रहेको पनि बताइन् ।
कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय ९० जनाको मृत्यु भइसकेको छ भने २० हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा १५ सय गम्भिर बिरामी छन् ।
चीनमा मात्रै कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय ८८ जनाको मृत्यु भइसकेको छ भने चीनभन्दा बाहिर २ जनाको मृत्यु भएको छ ।
चीन बाहेक अन्य २४ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।