सम्भावित कोरोना संक्रमितको उपचार गर्न ४३ शैया छुट्टाएका छौं: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिन सरकारले गरिरहेको कामका बारेमा प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । मंगलबारको प्रतिनिधि सभामा मन्त्री ढकालले सम्भावित कोरोना संक्रमितलाई उपचार गर्न सरकारले ४३ शैया छुट्याइएको जानकारी पनि दिए । उनका अनुसार विभिन्न तीन अस्पतालमा ती शैयाको व्यवस्था मिलाइएको छ ।
उनले आफ्नै नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको पनि प्रष्टाए । यसैगरी यस्ता रोगसँग लड्नका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने गरि तीन सय शैयाको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने सरकारको तयारी गरेको बताए । उपत्यका बाहिर पनि पोखरा, चितवन र भैरहवामा हेल्थ डेस्क स्थापना गरिएको उनको भनाइ छ । कोरोनाको केन्द्र मनिएको हुवेई प्रान्तको वुहानमा रहेका १८० जना नेपालीलाई ल्याउने तयारीमा सरकार लागिसकेको उनले प्रष्टाए ।