क्यान्सरको उपचारभन्दा खानबस्नमा धेरै खर्च
कुल खर्चको ८० प्रतिशत खानबस्नमा, २० प्रतिशत औषधि उपचारमा

काठमाडौं, २१ माघ । विश्वभर नै दीर्घ रोगका बिरामीहरू बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । कतिपय दीर्घरोगको औषधि उपचारमा बिरामीले खानबस्नमा धेरै खर्च गर्नु पर्ने अवस्था छ । यस्तै दीर्घ तथा कडा रोग मध्येको एक हो क्यान्सर । क्यान्सरको उपचार यसै पनि महंगो मानिन्छ । नेपालको सन्र्दभमा त सबै नेपालीको पहुँचमा यसको उपचार अझै पुगिसकेको छैन् । राजधानी काठमाडौंमा क्यान्सरको उपचारका लागि सरकारी र निजी अस्पतालहरू प्रशस्तै भए पनि काठमाडौं बाहिरका मानिसले निकै सास्ती खेप्दै आएको छन् ।
नसर्ने तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फडिन्द्र बरालका अनुसार कतिपय बिरामी त २६२ किलोमिटर टाढाबाट समेत क्यान्सरको उपचारमा अस्पताल आउने गर्छन् । क्यान्सरको आठ साता (५६ दिन) को उपचारका लागि १०३.८ दिन खर्चन बिरामी बाध्य भएको उनले बताए । क्यान्सर रोगको उपचारमा भन्दा बिरामीको ‘लजिङफुडिङ’मा बढी खर्च हुने विभिन्न अध्ययनले देखाएको उनी बताउँछन् । उनका अनुसार सम्पूर्ण खर्चको ८० प्रतिशत खर्च ‘लजिङफुडिङ’मा र २० प्रतिशत औषधिउपचारमा लाग्ने गरेको छ ।
बालबालिका देखिने क्यान्सर उपचारको अवस्था पनि यस्तै छ । एक सयदेखि दुई सयसम्म पर्ने भ्याक्सिन लगाउन अस्पतालसम्म जाँदा १५ देखि २० हजारसम्म खर्च हुने अवस्था रहेको कान्ति बाल अस्पतालका डा. सुधिर सापकोटा बताउँछन् । अस्पतालले उपचार सस्तो छ भने पनि खानबस्नमा लाग्ने खर्चले क्यान्सर पीडितका परिवारलाई आर्थिक भार थपिदिएको छ । उपचार खर्च भन्दा चार गुणा बढी खान र बस्नमा लाग्ने गरेको उनको भनाइ छ ।
अपर्याप्त रेडियसनले थप समस्या
क्यान्सरका ८० प्रतिशत बिरामीलाई रेडियसन थेपापी आवश्यक पर्ने वीर अस्पतालकी डा. सन्ध्या चापागाई बताउँछिन् । तर यहाँका केही अस्पतालमा मात्रै यसको उपलव्धता हुँदा बिरामी पालो कुरेर बस्नु पर्ने र टाढाबाट उपचारका लागि आएकाहरूको खर्च बढ्ने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० लाख जनसंख्या बराबर एक रेडिएसन थेरापी हुनुपर्छ । तर नेपालमा ९ वटा मात्रै यस्ता उपकरण छन् । जनसंख्या अनुसार नेपाल २९ वटा रेडियसन मेसिन आवश्यक पर्छ । नेपालका ६ अस्पतालमा मात्रै रेडियोथेरापी सेवा उपलब्ध छ । वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, विपि कोइराला क्यान्सर अस्पताल, वीएण्डसी अस्पताल झापा, काठमाडौं क्यान्सर सेन्टर र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले रेडियोथेरापी सेवा दिइरहेका छन् ।
नेपाल सरकारले विपन्न नागरिक कोष स्थापना गरी कडा खालका आठ प्रकारका रोग लागेका विपन्न नागरिकको उपचारमा सहुलियत प्रदान गर्न एक लाख उपचार खर्च दिँदै आएको छ । यो कदमले केही हदसम्म सहज भए पनि बिरामीले गर्नैपर्ने खर्चमा भने खासै कटौती हुन सकेको छैन ।
कोषबाट उपचार खर्च लिने बिरामी मध्ये अधिकांश क्यान्सरकै बिरामी रहेका तथ्यांकले देखाएको छ । विपन्न नागरिक औषधि तथा उपचार कोषबाट आर्थिक वर्ष ०७५/७६ मा कुल ५३ हजार ३ सय ३० लाभान्वित भएका मध्ये ३७ हजार १ सय २१ जना क्यान्सरका बिरामी थिए ।
क्यान्सर निको नहुने रोग होइन् । ३० देखि ५० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने डा. सन्ध्या चापागाई बताउँछिन् । क्यान्सर जति छिटो पत्ता लाग्छ उति नै छिटो निको हुने उनको भनाइ छ ।
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका उपचार पहुँचबाहिर
बच्चामा हुने क्यान्सरको उपचार अन्य व्यक्तिमा भन्दा बढी हुने कान्ति बाल अस्पतालका डा. सुधिर सापकोटा बताउँछन् । विश्व स्वास्थ्य संगठनले क्यान्सर भएका बिरामी सन् २०३० सम्म ६० प्रतिशत बाचुन भन्ने लक्ष्य लिएको छ । उनका अनुसार विश्वभर सन् २०१८ मा तीन लाख नयाँ बालबालिकामा क्यान्सर फेला परेको थियो । त्यस अनुसार प्रत्येक २ देखि ३ मिनेटमा एक जना क्यान्सर पीडित बालकको उपचार भैरहेको हुन्छ । तर नेपालमा भने २५ प्रतिशत मात्र क्यान्सर रोगी बालबालिका पहिचान भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा क्यान्सर पीडित बालबालिको संख्या वर्षमा १५ सयदेखि २ हजारसम्म पत्ता लाग्नु पर्ने हो । डा. सापकोटाका अनुसार नेपालमा प्रत्येक वर्ष तीन सय भन्दा पनि कम बालबालिका उपचारको पहुचमा आइरहेका छन् । यसकारण नेपालमा क्यान्सर पहिचान नभएका वा उपचारको पहुँच बाहिर रहेको बालबालिका ७५ प्रतिशत रहेका छन् ।
सर्भाइबल क्यान्सर
सर्भाइबल क्यान्सर महिलामा विकराल बन्दै गएको छ । विश्वमा यो क्यान्सरका नयाँ बिरामी वर्षेनी पाँच लाख १० हजार भेटिएको छ । परिवार कल्याण महाशाखाका अनुसार नेपालमा प्रत्येक वर्ष दुई हजार तीन सय ३२ महिलाको क्यान्सर उपचार भैरहेको छ भने एक हजार तीन सय ६७ को मृत्यु हुने गरेको छ । ८०.९ प्रतिशत महिला उपचारका लागि अस्पतालम ढिलो पुग्ने गर्छन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष तीन हजार पाँच सय चार नयाँ बिरामीको उपचार हुनुपर्ने हो । यस्तै १८ सय ७२ जनाको मृत्यु हुने प्रक्षेपण संगठनको छ ।
सर्भाइवल क्यान्सर रोकथामका लागि बनेको एचपीभी भ्याक्सिनको अहिले ग्लोबल सर्टेज रहेकाले नेपालमा यसको उपलब्धता गराउन अझै दुई वर्ष लाग्नेस्थिति छ । यो क्यान्सरको स्क्रिनिङ सर्भिस लिनेको अवस्था पनि नाजुक छ । २.४ प्रतिशतले मात्र यो सेवा लिएको पाइन्छ ।