सुदूरपश्चिमका ९.९३ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बीमामा आवद्ध

धनगढी, २१ माघ । सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको चार वर्षमा ९.९३ प्रतिशत जनसंख्या मात्रै आवद्ध भएको छ। डोटी र डडेल्धुरा बाहेकका सुदूरपश्चिमका ७ जिल्लामा लागु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिलेसम्म न्यून जनसङख्या मात्रै कार्यक्रममा आवद्ध भएको हो।
बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार २०६८ को जनगणनाअनुसार प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेकोमा हालसम्म स्वास्थ्य बीमा कार्यक्रममा दुई लाख ५३ हजार मात्रै आवद्ध भएका छन्।
स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका संयोजक जनक साउँदले भने, ‘सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबैभन्दा बढि स्वास्थ्य बिमित रहेका छन् भने दार्चुलाबाट हालसम्म सबैभन्दा कम स्वास्थ्य बिमित रहेका छन्।’ फागुन भित्रै डडेल्धुरा र डोटीमा पनि बीमा कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य राखिएको उनले बताए।
अहिले स्वास्थ्य बीमा कार्यक्रममा नविकरण गर्ने घरधुरीको सङख्या भने बढ्दै गएको दावी गरिएको उनको छ। सुरुमा नविकरण गर्नेको संख्या २२ प्रतिशतमात्रै रहेकोमा अहिले भने सुदूरपश्चिम प्रदेशमा नविकरण गर्नेको संख्या ६० प्रतिशत पुगेको प्रदेश बिमा बोर्डले जनाएको छ।
यस वर्ष सुदूरपश्चिम प्रदेशका स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने योजना पनि राखिएको छ। राष्ट्रिय बीमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुटमा समावेश गर्ने नीति ल्याएको हो।