भरतपुर अस्पतालमा अब राति पनि डायलासिस हुने



Download our app to get more features

चितवन, २१ माघ । भरतपुर अस्पतालमा रात्रिकालीन डायलासिस सेवा सुरु भएको छ । 

बिहानदेखि साँझसम्म हुँदै आएको डायलासिस बिरामीको चाप बढेपछि सोमबारदेखि रात्रिकालिन समयमा समेत सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । रातिको समयमा समेत सेवा विस्तार भएसँगै चौबिसै घण्टा सेवा सुरु भएको छ । 

अस्पतालमा २०७४ साल भदौ ११ गतेदेखि विधिवत् रूपमा डायलासिस सेवा सञ्चालन भएको हो । विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत सो सेवा प्रवाह भईरहेको छ ।  

हाल ३० पुरुष र ३९ महिला गरि ६९ जनाले नियमित डायलासिस सेवा लिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा समेत सुचारु गरिएको उनको भनाइ छ ।

अस्पतालको तथ्याङ्क अनुसार स्थापनाकाल देखि हालसम्म १२ हजार ७ सय ८८ पटक विभिन्न बिरामीले निःशुल्क डायलेसिस लिएका छन् । सरकारले मिर्गौलाको बिरामीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ ।

डायलासिस मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो । मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन । 

शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने हुन्छ । मिर्गौलाले काम गर्न छोडेपछि डायलासिस गरिन्छ । मिर्गौलाले गर्ने काम कृत्रिम तरिकाबाट मेसिनद्वारा गर्ने काम भनेको नै डायलासिस हो । मृगौलाले नियमित रुपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलासिस गराउन आवश्यक हुन्छ ।

भरतपुर अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

Last modified on 2020-02-05 19:59:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts