१३ जिल्लामा २५ माघबाट हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन अभियान
गम्भीर रोग लागेकाले औषधि सेवन गर्नुहुँदैन

काठमाडौं, २० माघ । सरकारले हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाहाखाका प्रमुख डा. विवेककुमार लालले २५ माघबाट अभियान सुरु गर्ने जानकारी दिए । उनका अनुसार अभियान १३ जिल्लामा सञ्चालन हुनेछ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म आमऔषधि सेवनमार्फत संसारभरबाट हात्तीपाइलेलाई निवारण गर्ने लक्ष्य लिएको छ । संसारका ७१ मध्ये २१ संक्रमित देशले आमऔषधि कार्यक्रम सम्पन्न गरिसकेका छन् । हालसम्म विश्वमा ४९.९ करोड मानिसले हात्तीपाइलेको पुर्ण उपचार पाएका छन् साथै ६७ अर्बको औषधि खुवाईएको छ ।
६३ जिल्लामा हात्तीपाइलेको जोखिममा
महासाखाका अनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । साथै २.५ करोड जनसंख्या यसको जोखिम रहेका छन् । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तंै परजीविले गराउँछ र यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्छ । मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही बर्षपछि मात्र रोगका लक्षण देखिने हुन्छ । यस रोगको लक्षण देखि सकेपछि निको पार्न सकिंदैन ।
हात्तीपाईलेबाट बच्न तथा प्रारम्भिक अवस्थामै पूर्ण रुपमा निको बनाउनका लागि रोगको जोखिमपूर्ण जिल्लामा राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम संचालन गरिदै आएको लालको भनाइ छ ।
हात्तीपाईले रोगको परजीविमुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक बर्ष सञ्चालन गर्ने आमऔषधि सेवन कार्यक्रममा सहभागी भई बर्षको एक पटक लगातार ६ बर्षसम्म हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने ।
हात्तीपाइले रोगबाट बच्न दुई थरि औषधिहरु प्रयोग हुन्छन् जुन पूर्ण रुपमा सुरक्षित रहेको पनि डा. लाल बताउँछन् । उनले भने, ‘यी औषधि बर्षौदेखि विश्वभर प्रयोग हुँदै आएका छन् ।
हालसम्म विश्वभर अर्बाैं र नेपालमा पटक पटक गरि ११ करोड भन्दा बढी मात्रामा यी औषधि खाईसकिएको छ । यी दुई थरि औषधिले हात्तीपाइले रोग लागिसकेकाको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ ।
यस्ता व्यक्तिले सेवन गर्ने
आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लामा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले औषधि सेवन गर्नुपर्छ । दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा गम्भीर रोगका बिरामीहरु (क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मिर्गौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच बर्ष मुनिका बालबालिकाहरुले) ले यो औषधि सेवन गर्नु हुँदैन ।
औषधि सेवन गर्दा ध्यान दिनुपर्ने
यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तीमा हात्तीपाईले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भनेर बुझ्नु पर्छ । ती लक्षण केही घण्टाभित्रमा आफैं हराएर जान्छन् । केही गरी ती लक्षणहरु लामो समयसम्म रहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ ।
यी जिल्लामा खुवाइदैछ आम औषधि
झापा,
धनकुटा,
मोरङ,
बारा,
लमजुङ,
पर्वत,
बाग्लुङ,
कपिलबस्तु,
दाङ,
बाँके,
बर्दिया,
कैलाली र
कञ्चनपुरमा आमऔषधि खुवाइदैछ ।
आम औषधि सेवन कार्यक्रममा पाँच हजार आठ सय ८५ स्वास्थ्यकर्मीहरू परिचालन हुनेछन् भने महिला स्वास्थ्य स्वयंसेविका १० हजार आठ सय ३८ परिचालन हुनेछन् ।
अभियान सक्किने बारे भने टुंगो नलागेको महासाखाले जनाएको छ । पहाडी जिल्लामा दैनिक १५० र तराइका जिल्लामा दैनिक २०० जनालाई औषधि वितरण हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ । यस अनुसार प्रत्येक स्थानीय तहमा रहेको स्वास्थ्यकर्मी र जनसंख्याको आधारमा अभियान कति लामो वा छोटो हुने भन्नेमा निर्भर छ ।
यस रोगबाट सन् २००० सम्म १२ करोड मानिस संक्रमित तथा ४ करोड मानिस अंगभंग भएको पनि डा. विवेककुमार लालले बताए ।