डोटीमा कुष्ठरोगी बढ्दै

डोटी, २० माघ । डोटीमा कुष्ठरोगीको सङ्ख्या बढदै गइरहेको छ। गएको सात महिनामा चारजना नयाँ कुष्ठरोगीको सङ्ख्या थपिएको छन्। अहिले जिल्लामा सातजना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। रोगीको संख्या शून्यमा झार्न अभियान सञ्चालन गरिए पनि असफल बनेको छ।
गत आर्थिक वर्षको अन्तिम असारसम्म जिल्लामा तीनजना कुष्ठरोगी रहेकामा चालु आवको पुस मसान्तसम्ममा थप चारजना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। तथ्याङ्कअनुसार केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल–सिलगढी नगरपालिकामा दुई र बडीकेदार गाउँपालिकामा एकजना कुष्ठरोगका बिरामी फेला परेका हुन्।
स्वास्थ्य कार्यालयको रेकर्डमा आउन बाँकी रहेका दुईजना फेरि नयाँ कुष्ठरोगी फेला परेको क्षय कुष्ठरोगसम्बन्धी फोकल पर्सन उद्धवसिंह ठगुन्नाले बताए। जिल्लामा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आवमा जिल्लाका नौवटै स्थानीय तहमा कुष्ठरोगका बिरामी पहिचानका लागि स्क्रिनिङ क्याम्प गर्ने योजना रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख तथा जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए।
डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि उक्त लक्ष्य चुनौतीका रुपमा लिइन थालिएको छ। कुष्ठरोगका बिरामीहरुलाई जिल्लामा देवीदेउता, पिचास लागेको भन्ने समाजमा रहेको अन्धविश्वास र विभेदको अन्त्य गरी ससम्मान स्वास्थ्योपर गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए।