चीनबाट स्वदेश फर्काइने नेपालीलाई राख्ने ठाउँ खोज्दै सरकार



Download our app to get more features

काठमाडौं, २० माघ । चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले तयारी थालेपनि उनीहरुलाई राख्ने ठाउँ भने टुुङ्गो लागि सकेको छैन ।

नोवेल कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित चीनको वुहान राज्यमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारीभएपनि उनीहरुलाई राख्ने ठाउँको विषयमा अझै टुुङ्गो लाग्न नसक्दा उद्दार कार्यमा ढिलाइ हुने भएको छ ।

नेपाल सरकारले वुहानबाट नेपालीलाई उद्दार गर्ने विषयमा तयारी भइसकेको भन्दै सूचना सार्वजनिक गरेपछि झन्डै ३०० नेपालीले उद्दार गर्नका लागि आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् ।

स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख सागर दाहालले हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्रालय एक्लैको काम नभएकाले यो विषयमा अन्य मन्त्रालयसँग समन्वय गरेर ठाउँको विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘विभिन्न मन्त्रालयका पदाधिकारीसहितको अध्ययन टोलि बनाइएको छ । उनीहरु सम्भावित ठाउँको खोजीमा छन् । ठाउँ टुुङ्गो लाग्नासाथ चीनबाट विद्यार्थीलाई फिर्ता बोलाइनेछ ।’

नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन केन्द्र लगायतका स्थानलाई सम्भावित ठाउँको रुपमा लिइएको पनि उनले जानकारी दिए ।

उनले सक्दो चाँडो ठाउँको विषयमा टुुङ्गो लगाउने तयारी भइरहेकोले उद्दार प्रक्रिया नलम्बिने बताए ।

यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि विमान तयारी अवस्थामा रहेको र जुनसुकै बेला उनीहरुलाई चीनबाट स्वदेश फर्काउन सकिने बताएका थिए । तर, स्वदेश फर्काइने नेपालीलाई कहाँ राख्ने भन्ने विषयमा अहिलेसम्म टुुङ्गो लाग्न नसक्दा उद्दार प्रक्रियापनि लम्बिएको छ ।

नेपालमा वुहानबाट फर्केका नेपालीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएकाले त्यहाँबाट फर्कने अन्य नेपालीमा पनि त्यसको संक्रमण हुन सक्ने सम्भावना भएकाले उनीहरुको पूर्ण स्वास्थ्य जाँच गर्नुपर्ने भएकाले समस्या देखिएको हो । 

Last modified on 2020-02-03 09:20:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts