खप्तडछान्नाको बर्थिङ सेन्टरमा तीन महिनादेखि ताला, सुत्केरी गराउन घण्टौं हिड्नु पर्ने बाध्यता

बझाङ, १९ माघ । खप्तडछान्ना गाउँपालिका–६ को बयाना र बडाकोट गाउँलाई लक्षित गरी निर्माण भएको बर्थिङ सेन्टर तीन महिनादेखि बन्द छ । जग्गादान गरेका झुरु थापाले सिफारिस गरेकोे मान्छेलाई बर्थिङ सेन्टरमा कर्मचारी (कार्यालय सहयोगी) नियुक्त नगरेको भन्दै ताला लगाइदिएका हुन् ।
जग्गादान गर्दा कार्यालय सहयोगीसम्म भए पनि एक जना कर्मचारी राख्ने सहमतिका भएको झुरु थापाले बताए । तर बर्थिङ सेन्टर निर्माण र संचालनका क्रममा सहमति पालना नगरेको उनको भनाइ छ । कर्मचारी राख्दा जानकारी सम्म नगरेका कारण बाध्य भएर बर्थिङ सेन्टरमा ताला लगाएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले भने कार्यालय सहयोगी तथा सुईपर राख्दा ७ दिने सार्वजजिक सूचना गरेको र निश्पक्ष तरीकाले कर्मचारी चयन गरेको बताए । ‘उनको परिवारका सदस्यले निवेदन नै दिएनन् र घरमै गएर कर्मचारी बनाउन सकिएन’ उनले भने । आफुहरुले कर्मचारी राख्ने सहमति नगरेको र त्यो सहमतिबारे जानकारी नभएको अध्यक्ष रोकाएले बताए ।
तत्कालिन पाटादेबल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाख लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको वडा नम्बर ६ का अध्यक्ष तिलककुमार खड्काले बताए । आफुले पटकपटक ताला खोल्न आग्रह गर्दा समेत नमानेका कारण जिल्ला प्रशासनमा जानकारी गराएको उनको भनाइ छ ।
दुई दिन मात्रै खुल्यो बर्थिङ सेन्टर
बर्थिङ सेन्टर निर्माण भएपछि जम्मा दुई दिन मात्रै संचालनमा आएको थियो । उद्घाटन र औषधि खरिद गरी संचालनमा आएको सेन्टर तेस्रो दिनदेखि थापाले ताला लगाए । महिला सदस्य कृष्णादेवि थापाका अनुसार बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिलाहरु मारमा परेका छन् । बर्थिङ सेन्टर बन्द भएयता गाउँका ३–४ जना गर्भवतीले बिचबाटो मै बच्चा जन्माइसकेको थापाले बताइन ।
२६ पुसमा सुत्केरी व्यथा लागेकी कल्पना थापाले बर्थिङ सेन्टर बन्द भएका कारण गाँउबाट झण्डै २–३ घण्टाको पैदल यात्रा गरेर पाटादेबल स्वास्थ्य चौकी पुगेको बताइन । तर दिन शनिबार परेकाले नर्स घरमा गएको र स्वास्थ्य चौकीको चर्पीमा बच्चा जन्माएको उनले बताइन । ‘गाउँमै बर्थिङ सेन्टर छ तर बन्द भएका कारण दुःख खेप्न परेको छ ।’ उनले भनिन् ।
यस्तै बयानाकी सत्यकलादेवि थापाले स्वास्थ्य चौकी टाढा भएका कारण बिचबाटोमै बच्चा पाएको सुनाइन । ‘नजिकैको बर्थिङ सेन्टरमा ताला लगाएको छ, विवादका कारण कहिले खुल्ने ठेगान नै छैन ।’ उनले भनिन् । एक महिना अघि उनले बाटोमा बच्चा जन्माएको सुनाइछ । सुत्केरी व्यथा लागेपछि गाउँबाट पाटादेबल स्वास्थ्य चौकी जाने क्रममा बिचबाटोमै सुत्केरी भएको उनले बताइन ।
पुस ०७५ मा बडाकोटकी ३६ वर्षीया उजलीदेवी थापाको सुत्केरी गराउन स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको थियो । सुत्केरी व्यथा लागेकी उजलीलाई स्वास्थ्य चौकी पाटादेबल लैजाने क्रममा बाटोमै ज्यान गएको उनका श्रीमान प्रेम थापाले बताए ।
स्थानीय निराश
गाउँमा बर्थिङ सेन्टर बनेपछि खुसी बनेका स्थानीयमा अहिले निराशा छाएको छ । बर्थिङ सेन्टरमा तालाबन्दी बारे सरोकारवाला बेखर बनेपछि स्थानीयले २–३ घण्टा पैदल यात्रा गरेर पाटादेबल स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता छ ।
दुवै गाउँको पायक पर्ने ठाउँ कोटीखेतमा बर्थिङ सेन्टर छ । दुवैै गाउँबाट बर्थिङ सेन्टर पुग्न १० मिनेट मात्रै लाग्छ । तर अहिले यहाँका बासिन्दा २–३ घण्टा हिँडेर पाटादेबल पुग्नुपर्ने बाध्यता छ ।
बयानामा झण्डै १४० र बडाकोटमा ७५ परिवारको बसोबास छ । बर्थिङ सेन्टरका लागि राखेको औषधि काम नलाग्ने अवस्थामा पुगेको छ भने बर्थिङ सेन्टरका झ्यालहरु फुटालिएका छन् ।