प्रादेशिक अस्पतालको नयाँ भवनः शौचालय पानले रंगियो

जनकपुरधाम, १९ माघ । सरकारी कार्यालय एवं स्वास्थ्य संस्थाहरुको भित्तामा लेखिएको हुन्छ, ‘यहाँ पान, गुटखा सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।’ तरपनि त्यस कार्यालयकै अधिकांश कर्मचारीले नै यस्ता आदेशलाई पालना गरिरहेका हुँदैनन् । स्वच्छता सन्देशहरुमाथि नै पान गुट्खा थुकेर अभियानलाई मजाक बनाइरहेको देखिन्छ । अब यो विषय कुनै नौलो कुरा रहेन । सरकारी कार्यालयका अधिकांश कर्मचारीहरु आफैसमेत धुम्रपान र सूर्तिसेवन गर्नबाट वञ्चित छैनन् ।
एकातर्फ प्रदेशका मुख्यमन्त्री,मन्त्री लगायत दर्जनौं सरसफाइ अभियानमा सहभागी भएर समय समयमा बिभिन्न सार्वजनिक स्थानहरुमा वृहत सरसफाइ गरी स्वच्छताको संदेश दिइरहेका छन् भने अर्कोतर्फ सरकारी कार्यालय र अस्पतालका भित्ताहरु पान र गुट्खाको पीकले रंगिएको समेत देख्न सकिन्छ । यसको प्रत्यक्ष उदाहरण हो, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवनको इमरजेन्सी वार्डको शौचालय ।’
शनिबार अस्पतालको इमरजेन्सी वार्डको शौचालयमा पुग्दा दुर्गन्ध नै दुर्गन्ध थियो । बेसिन नयाँ थियो तर त्यसमा पान र गुटकाको थुकले त्यसको प्वाल नै बन्द । बेसिन माथिको धारा कसैले भाँचेर तल फ्यालेका थिए । न त धारामा पानी थियो न त ढोकामा चुक्कुल । थियो त केवल भित्ताहरुमा जत्तातत्तै पान र गुट्खाको पीक । शौचालयको चारै कुनामा थुकैथुक । हेर्नेवित्तिकै घीलाग्दो अबस्था थियो ।
स्थानीय गुड्डु पाण्डेले भने, ‘लाज नभएका वेसरम व्यक्तिहरुको हर्कत नै हुनुपर्छ भन्ने कुरामा त कुनै दुईमत छैन् । अस्पताल परिसर भित्र गुटका सेवनलाई प्रतिबन्ध लगाउनुको साथै सेवनकर्तालाई समेत जरिवाना लगाउन उनले माग गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसँग आफ्नो कर्तव्यको पालना गर्न समेत उनले आग्रह गरे ।