जानकी आँखा अस्पतालः ४० दिनदेखि धर्नारत संघर्ष समितिको आन्दोलन स्थगित

जनकपुरधाम, १८ माघ । जनकपुरधामस्थित जानकी आँखा अस्पताल विधानसम्मत सञ्चालन हुनुपर्ने माग गर्दै विगत ४० दिनदेखि धर्नामा रहेका जानकी आँखा अस्पताल सुधार संघर्ष समितिका पदाधिकारीहरुले शुक्रबारदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् ।
आन्दोलनरत संघर्ष समितिको ८ बुँदे मागको सम्बन्धमा जानकी आँखा अस्पतालको व्यवस्थापन समिति तथा आँखा अस्पताल सुधार संघर्ष समिति बीच बैठक बसी जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रको नेतृत्वमा रहेको अनुगमन टोलीले ७ दिनभित्र प्रतिवेदन अनुसारको कारबाही तथा निर्णयको जानकारी सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता जनाएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको संघर्ष समितिका सचिव रामकेवल साह कमलले बताए । अनुगमन एवं छलफलबाट तथा प्राप्त जानकारीहरु सहितको प्रतिवेदन तयार गरि तत्कालै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने प्रशासकीय अधिकृत गणेश मिश्रले बताए ।
अस्पताल सुधार संघर्ष समितिले जानकी आँखा अस्पतालको विधान अनुसार मेडिकल डाईरेक्टर नियुक्त हुनुपर्ने,आपत्तकालिन समय बाहेक अस्पताल सञ्चालनको नियमित समयमा अस्पतालको मेनगेट खुल्ला रहनुपर्ने,अस्पतालको नियमानुसार ननप्रयाक्टिस पुर्णरुपमा लागु हुनुपर्ने,रिक्त स्थानको पदपूर्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरि प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने,अस्पतालको सामान बाहिरबाट खरिद गर्दा नेपाल सरकारको प्रचलित कानून अनुसार गर्नुपर्ने,अस्पताल हाताभित्र सर्वसुलभ ढंगले देखिनेगरि नागरिक वडापत्र राख्नुपर्ने,तत्कालिन संघर्ष समिति र जानकी आँखा अस्पतालको व्यवस्थापन समिति गठन हुनुपर्ने लगायत माग राखेका थिए । त्यस्तै बिरामी चेकजाँच गर्ने क्रममा औषधी र चश्माको लागि कोठा नम्बर किटान गरि सेवाग्राहीलाई वर्ग लाउने कार्य मौलिक अधिकार विपरित भएकोले अविलम्ब उक्त कार्य बन्द गरि आँखा जँचाउन आएका बिरामीले स्वतन्त्र रुपले चश्मा र औषधि खरिद गर्न पाउनुपर्ने माग उनीहरुको छ ।
शुक्रबारको बैठकमा जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र,जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह,रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह तथा वडाका जनप्रतिनिधिहरु उपस्थित थिए । अस्पतालको अवस्था सुधारका लागि भन्दै उनीहरु गत पुस १४ गतेदेखि अस्पतालको गेट अगाडी धर्नामा बसेका थिए ।