चिकित्सक संघको निर्वाचन: उपत्यकामा एउटै केन्द्रबाट मतदान, प्रत्येक घण्टा दुई सय मत खस्ने अनुमान

काठमाडौं, १६ माघ । नेपाल चिकित्सक संघले काठमाडौं उपत्यकामा शुक्रबारबाट हुने दोस्रो चरणको निर्वाचनको तयारी पुरा भएको जनाएको छ । उपत्यका बाहिर ४ र ५ माघमा संघको पहिलो चरणको निर्वाचन भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासनीका अनुसार निर्वाचन २१ माघसम्म हुनेछ । यसका सबै तयारी लगभग पुरा भैसकेको उनको भनाइ छ । काठमाडौं उपत्यकामा रहेका सबै मतदाताले एउटै केन्द्रमार्फत मतदान गर्नुपर्नेछ । उपत्यकाका ठूला अस्पतालमा मतदान केन्द्र राख्न सकिने तर त्यसका लागि समय र लागत बढी लाग्ने हुँदा एउटै मतदान केन्द्र बनाएको डा. मरासनीको भनाइ छ ।
अद्धैतमार्गस्थित नेपाल चिकित्सक संघको कार्यालयमा रहेको मतदान केन्द्रमा गइर भोट गर्न सक्नेछन् । उपत्यकाबाहिर भएको निर्वाचनमा मतदान नगरेका चिकित्सकहरूले पनि काठमाडौं आएर मतदान गर्न सक्नेछन् ।
देशको राजधानी र धेरै चिकित्सक रहेको काठमाडौं उपत्यकामा प्रत्येक घण्टा दुई सय मत खस्ने अनुमान गरिएको छ । धेरै मतदाता रहेको र एउटै मतदान केन्द्र रहेको हँुदा सुरक्षाको चुनौति पनि त्यतिकै रहेको डा. मरासनी बताउँछन् । उनका अनुसार सुरक्षाको व्यवस्थामा कुनै कसर बाँकी राखिने छैन् ।
नेपाल चिकित्सक संघमा करिब नौ हजार नौ सय मतदाता छन् । जसमध्ये २८ सय ५० मत उपत्यका बाहिरबाट खसिसकेको छ । यस हिसाबले पनि उपत्यकामा ६ हजारसम्म मतदान रहेको अनुमान छ । यी सबैलाई मतदानमा सहभागी गराउन प्रत्येक घण्टामा दुई सय मत खस्ने गरी तयारी गरेको डा. मरासनीको भनाइ छ । संघको निर्वाचनले २८औं कार्यसमिति चयन गर्नेछ ।