सेती प्रादेशिक अस्पतालमा अझै विशेषज्ञ सेवा विस्तार हुन सकेन

धनगढी, १६ माघ । सुदूरपश्चिममा मुटु र मृगौला सम्बन्धी रोग लागेर उपचार नपाएर दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाईसकेका छन् भने धेरै त आर्थिक अभावमा उपचारका लागि अन्यत्र जान नसकेपछि प्राण त्याग्न विवश भएका उदाहरण छन् । तर, २८ लाख प्रदेशबासीको जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालको वषौँदेखिको विशेषज्ञ सेवा पर्खाइ अझै पूरा हुन सकेको छैन् ।
राजनीतिक हस्तक्षेपले आन्तरिक कलहमा फसेको सेती प्रादेशिक अस्पताल वषौँदेखि मुटु, मृगौला र नसा रोग सम्बन्धी विशेषज्ञ सेवाको पर्खाइमा रहेपनि पूरा हुन नसकेको हो । विशेषज्ञ सेवाको अभावमा मुटु, मृगौला र नसा सम्बन्धीका गम्भीर प्रकृतिका रोग लागेमा प्रदेश बाहिर धाउनुपर्ने बाध्यता रहेको छ भने उपचार गराउँदा गराउँदै धेरैको त उठिबास नै लागिसकेको छ ।
देश संघिय संरचनामा गएर अस्पताल प्रदेश सरकार मातहत आईसकेपनि विशेषज्ञ सेवा विस्तारको छनक देखिएको छैन् । मुटु, मृगौला र न्युरो सम्बन्धीको सेवा नभएकै कारण उपचारका लागि पुग्ने बिरामीलाई अन्यत्र रेफर गर्नू बाहेकको विकल्प नभएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए ।
तत्कालीन अञ्चल अस्पताल नाममा स्तरोन्नती भएर प्रादेशिक बनेपनि विशेषज्ञ सेवा विस्तार हुन नसकेको हो । मेसु पाण्डेले मुटु, मृगौला र नसा सम्बन्धीको विशेषज्ञ सेवा तत्कालै सञ्चालन गनूपर्ने आवश्यकता रहेको बताए । वषौँदेखि विशेषज्ञ सेवाको पर्खाइमा रहेको सेती प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आईसकेपछि पूरा हुने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन ।
छ महिना अघि मात्रै आएको व्यवस्थापन समितिले भने अस्पतालको सेवा सुधार भन्दा पनि निहित स्वार्थ पूर्ती गर्न च्यानल मिलाउन संघर्ष गरिरहेको आरोप लाग्दै आएको छ । अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्दै आवश्यक पर्ने औजार उपकरण समेत खरिद गर्नुपर्ने हुन्छ ।
अस्पतालको आन्तरिक बजेटले विशेषज्ञ सेवा सञ्चालन गर्न नसकिने भएकाले संघिय सरकारबाटै पहल गरिनुपर्ने मेडिकल सुपरीटेन्डेन्ट पाण्डे बताउँछन् । उनले मृगौला, मुटु सम्बन्धीको विशेषज्ञ सेवाका लागि संघिय सरकारले चिकित्सक मात्रै पठाई दिएमा उपचारमा आवश्यक पर्ने औजार, उपकरण विस्तारै व्यवस्थापन गर्दै लैजान सकिने बताए ।
तर, प्रदेश सरकार, व्यवस्थापन समिति र यसक्षेत्रबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुले विशेषज्ञ सेवाका लागि पहल नगरेको पनि आरोप लाग्ने गरेको छ । अस्पतालमा अहिले पाँच शैयाको आईसियु सेवा सञ्चालन रहेपनि बिरामीको बढ्दो चापका कारण पर्याप्त हुन सकेको छैन् ।
आईसीयु सेवाका लागि पनि थप शैया विस्तार गर्नूपर्ने आवश्यकता रहेको छ भने सोही अनुसारको जनशक्ति पनि व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि अस्पतालको काधमा रहेको छ । हुन त अस्पतालले अहिले विशेषज्ञ चिकित्सक र नर्सिङ कर्मचारीको माग गर्दै विज्ञापन खोल्ने तयारी समेत गरेको छ । त्यो जनशक्ति व्यवस्थापन भए सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको छ तर विशेषज्ञ सेवाका लागि भने संघिय सरकारबाटै पहल गरिनुपर्ने अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भएमा २८ लाख प्रदेशबासीले गम्भीर प्रकृतिका रोगको उपचारका लागि परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
तर, पछिल्लो पटक गठन भएको अस्पताल व्यवस्थापन समितिको ध्यान निहित स्वार्थ पूर्ती गर्नमा गएपछि सेवा सुधारका लागि आवश्यक पहल हुनेमा आशंका पनि व्यक्त गरिदै आएको छ ।