चीनमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सावधान रहन दुतावासको आग्रह

काठमाडौं, १० माघ । चीनमा रहेका नेपालीलाई बेइजिंगस्थित नेपाली दुतावासले कोरोना भाइरसको संक्रमणबारे सावधानी अपनाउन आग्रह गरेको छ ।
चीनको उहानसहितका सहरहरुमा यसको जोखिम बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । यो भाइरसका कारण अहिलेसम्म चीनमा मात्रै २५ जनाको ज्यान गइसकेको जनाइएको छ । नेपालमा पनि यसको उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । चीनबाट नेपाल आउने पर्यटन तथा नेपाली नागरिकको लागि सरकारले त्रिभुवन विमानस्थलमा हेल्थ डेक्सको स्थापना गरी सतर्कता अपनाइ रहेको छ ।
जोगिन के गर्ने ?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन । भिडभाडमा जानै परे मास्क प्रयोग अनिवार्य गर्नुपर्ने चिकित्सकहरुको सुझाब छ । यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनले साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खान सुझाब दिएको छ । हालसम्म यसको कुनै पनि भ्याक्सिन पत्ता लागेको छैन । यस संक्रमणको एक मात्रै उपचार भनेको उच्च सावधानी अपनाउनु मात्रै हो ।