नेपाल सरकारले बढायो कोरोनाविरुद्ध उच्च सतर्कता



Download our app to get more features

काठमाडौं, ९ माघ । छिमेकी देश चीनमा कोरोना भइरस संक्रमणले आतंक मच्चाइरहेको सन्दर्भमा नेपाल सरकार पनि सचेत भएको छ । सरकारले चीन लगायत कोरोना संक्रमण फैलिएको देशबाट आउने आगन्तुकको स्वास्थ्य प्ररीक्षणका लागि एयरपोर्टमा हेल्थ डेस्क स्थापनादेखि अन्य तयारी गरेको जनाएको छ । 

कोरोना भाइरस श्वासप्रस्वासका माध्यमबाट सर्ने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको जनाएको छ । 

महाशाखा प्रमुख डा. विवेक लालले भने, ‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ, चीनबाट नेपालमा धेरै पर्यटक भित्रिने भएकाले हामी पनि उच्च जोखिममा छौं ।’ उनले विमानस्थलको हेल्थ डेस्कले प्रभावित राष्ट्रबाट आएका व्यक्तिको विवरण संकलन गर्ने र विभिन्न अस्पतालसँग समन्वय गरिरहेको जानकारी दिए । 

कोरोना भाइरसको लक्षण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने हुन्छ । ‘यसको लक्षण फ्लुसँग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क रहनुपर्छ,’ उनले भने ।

जोगिन के गर्ने ?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन । भिडभाडमा जानै परे मास्क प्रयोग अनिवार्य गर्नुपर्ने चिकित्सकहरुको सुझाब छ । यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ । विश्व स्वास्थ्य संगठनले  साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खान सुझाब दिएको छ । हालसम्म यसको कुनै पनि भ्याक्सिन पत्ता लागेको छैन । यस संक्रमणको एक मात्रै उपचार भनेको उच्च सावधानी अपनाउनु  मात्रै हो । 
 

Last modified on 2020-01-23 17:00:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts