कोरोना भाइरसः स्वरुप परिवर्तन गरेर मानिसबाट मानिसमा सर्न सक्ने भन्दै चिनियाँ अधिकारीको चेतावनी



Download our app to get more features

चीन, ९ माघ । चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन् । उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन् ।

चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या पनि ४ सय ४० पुगेको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन् । अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए ।

भाइरस कति छिटो फैलँदै छ ?
यो बारेमा यसै हो भनेर भन्न सकिने अवस्था छैन तर चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन चीनभित्र करोडौँ मानिसहरू एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा अवस्था चर्कन सक्छ । हजारौँ चिनियाँहरू विदेश यात्रामा पनि छन् ।

चिनियाँ अधिकारीहरूले रोगको सङ्क्रमण फैलन नदिन कडा उपायहरू अपनाइएको बताएका छन् । त्यस्ता उपायमा वुहानबाट बाहिरिने सबैको ज्वरो मापन गर्ने र सार्वजनिक परिवहनका ठूला केन्द्रहरूमा निर्मलीकरण र उचित हावा प्रवाहको व्यवस्था गर्ने छन् ।

वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ । र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले बजारहरूमा छड्के कारबाही गरिरहेको छ ।

वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न मानिसहरूलाई आह्वान गरेका छन् ।

कहाँ कहाँ भाइरसको सङ्क्रमण छ ?
यो नयाँ भाइरस चीनबाहेक अन्य केही स्थानमा पनि देखिएको छ । थाइल्याण्डमा तीनवटा घटना फेला परेको छ भने दक्षिण कोरिया, जापान, ताइवान र अमेरिकामा एक–एक घटना देखिएको छ ।

अस्ट्रेलिया, सिङ्गापुर, हङ्कङ, ताइवान, अमेरिका, रुस र जापानमा अधिकारीहरूले वुहानबाट आउने यात्रुहरूको परीक्षणमा कडाइ अपनाएका छन् । लण्डनस्थित हिथ्रो विमानस्थलमा पनि वुहानबाट आउने यात्रुहरूको परीक्षण आरम्भ गरिएको छ ।

के तथ्याङ्कहरू सहि छन् ?
विज्ञहरू भन्छन् उक्त भाइरस सङ्क्रमण भएको तर फेला नपारिएका घटनाहरू धेरै हुन सक्छन् ।

इम्पिरिअल कलेज लण्डनको सङ्क्रामक रोग विश्लेषण एकाइको अनुमानमा संसारभरि १ हजार ७ सय जना उक्त भाइरसबाट सङ्क्रमित भइसकेका छन् । तर, चीनको रोग नियन्त्रण केन्द्रका अधिकारी भन्छन् सो ब्रिटिश अनुसन्धान संस्थाको त्यस्तो अनुमान “वास्तविकतामा जे देखिएको छ त्योसँग मेल नखाने प्रकारको” हो ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले स्वाइन फ्लु र इबोला सङ्क्रमणका बेलामा जस्तै उक्त नयाँ भाइरस सङ्क्रमणको सम्बन्धमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य सङ्कटकालको घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा बुधवार छलफल गर्दैछ ।

यदि त्यस्तो घोषणा गरिएमा त्यसलाई भाइरस सङ्क्रमणविरुद्ध सुसंयोजित अन्तर्रा्ष्ट्रिय प्रतिक्रियाका लागि भएको आह्वानका रूपमा लिइने छ ।

Last modified on 2020-01-23 13:11:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts