भन्सार छलेर ल्याइएको एक ट्रक सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं, ६ माघ । भन्सार छलेर काठमाडौं ल्याएको एक ट्रक सुर्तीजन्य पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सुर्तीजन्य पदार्थ काठमाडौंस्थित गोदाममा राखिएको अवस्थाबाट बरामद गरिएको हो ।
प्रहरीका अनुसार बरामद सामाग्रीमा विभिन्न ब्राण्डका गुट्खा, खैनी, सुर्ती, पान पराग, पान मसला, चुरोट छन् । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बरामद गरिएका सुर्तीजन्य पदार्थको मूल्य ५० लाख भन्दा बढी रहेको जनाए ।
उक्त धन्दामा संलग्न तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौँलगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।नेपाल प्रहरी महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । काठमाडौँको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौँको गौरिघाटस्थित गोदामबाट सामानसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी मुकेश कुमार सिंहले बताए ।
प्रहरी उपरीक्षक सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षीय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षीय नारायण बोगटी, र काठमाडौँको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षीय उदय भनिने शरणकुमार सिंह पक्राउ परेको बताए ।