काठमाडौं जिल्ला अदालतद्वारा दुर्गा प्रसाईंविरुद्ध २१ दिने म्याद जारी
काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध परेको मुद्दा उपर प्रकृया थालनी गर्दै २१ दिने म्याद जारी गरेको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गालिगलौज तथा मानहानी भएको भन्दै मुद्दा दर्ता गरेपनि अदालतले प्रसाईलाईं २१ दिनभित्र आफ्नो प्रतिउत्तर सहित अदालतमा हाजिर हुन भनेको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले हाम्रो डक्टरलाई जानकारी दिए ।
मानहानीको मुद्दाका हकमा प्रतिवादीविरुद्ध म्याद जारी गरी उनैलाई वा उनका एकाघरको परिवारलाई चिठी दिने वा उनको घरमा गएर २१ दिने म्याद सूचना टाँस्ने प्रचलन रहेको छ । प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन निवेदन दिँदा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए । त्यसपछि डा. गिरी मानहानीको मुद्दा लिएर काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।