१० वर्षभित्र ३० प्रतिशत भन्दा बढीलाई मुटु रोग
सुदुरपश्चिम प्रदेश उच्च जोखिममा

काठमाडौं, २ माघ । नेपाल अगामी १० वर्षभित्र मुटु रोगको जोखिम ३० प्रतिशत वा सो भन्दा बढी हुने तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्टेप्स सर्वे सन् २०१९ अनुसार अहिले ४० देखि ६९ वर्ष उमेर समुहका ३.३ प्रतिशतमा मुटु रोग छ । अहिले कै अवस्थामा मुटुरोगी बढ्दै जाने हो भने आगामी दश वर्षमा यो प्रतिशत ३० प्रतिशत पुग्ने परिषद्को प्रक्षेपण छ ।
विलासी जीवनशैली, अव्यवस्थित खानपानले मानिसमा मुटुरोग सहित नसर्ने रोगको जोखिम बढ्दै गएको चिकित्सकहरूको भनाइ छ । मुटु रोग पनि अव्यवस्थित खानपान, शारीरिक व्यामको कमी, अनियन्त्रित रक्तचाप, क्लेस्ट्रोलमा ध्यान नदिदा हुने चिकित्सकहरू बताउँछन् । सर्वेले पुरुषको तुलमा महिलामा मुटु रोगको जोखिम उच्च रहेको देखाएको छ । ४० देखि ६९ वर्षका महिलामा १० वर्षभित्र ३.३ प्रतिशतमा मुटुको जोखिम रहेको सर्वेको रिर्पोट छ । यस्तै पुरुषमा भने केही ३.२ प्रतिशत मात्रै जोखिम देखिएको छ ।
परिषद्को प्रदेश स्तरीय सर्वे अनुसार १० वर्षभित्र कुन प्रदेशमा कतिलाई मुटु रोगको जोखिम छ भन्ने पनि सार्वजनिक गरेको छ । जस अनुसार सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९.८ प्रतिशत रहेको देखाएको छ ।
कुन प्रदेशमा कति मुटुरोगी ?
प्रदेश १ मा २.९
प्रदेश २ मा २.६
वागमतीमा २.४
गण्डकी प्रदेशमा ३.९
प्रदेश ५ मा २.१
कर्णाली प्रदेशमा ३.७
सुदुरपश्चिम प्रदेशमा ९.८
यस्ता छन् मुटु रोग लाग्ने कारण
मुटुरोग लाग्ने विभिन्न कारण छन् । जसमध्ये अस्वस्थ्यकर खानपिन र अव्यवस्थित जीवनशैली प्रमुख हुन । पैसा र प्रतिष्ठाको तनावको घेराबन्दीमा पर्दै गएको हाम्रो समाजमा मुटु रोगी बढ्नु चिन्ताको विषय हो । अझै तनाव कम गर्ने वाहानामा मद्यपान, धुमपान, निन्द्रा लाग्ने औषधी सेवन गर्ने क्रम बढ्दो छ । यसले मुटुलाई थप असर गरिरहेको छ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार मुटु रोगको जोखिम कम गर्न सबैभन्दा पहिले आफ्नो स्वास्थ्यप्रति सर्तकता अपनाउनु पर्छ । साथै, मुटु रोगको लक्षण बारे जानकारी लिएर पनि मुटु रोगको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।
मुटु रोगका लक्षण
–हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध भएमा छाती दुख्नुका साथै छातीमा दबाब महशुस हुन्छ ।
–शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको लक्षण हो । कुनै व्यक्तिलाई मुटुसम्बन्धी समस्या भएमा विना शरीरिक परिश्रम पसिना निस्कने गर्छ ।
–खुट्टा तथा पैताला सुन्निनु भनेको मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो र मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेकै मुटु रोगको संकेत हो ।
–मुटुसम्बन्धी कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रक्रियासम्बन्धी समस्या हुने गर्छ ।
–मुटु रोग लागेमा रुघाखोकीले लामो समय सताउनुका साथै थुक सेतो वा गुलाबी हुने गर्छ ।
– श्वास लिनमा कठिनाई हुनु वा कम श्वास फेर्नु पनि हृदयघातको अर्को लक्षण हो ।
–मुटुमा कुनै समस्या भए छाती तथा काँधमा पीडा हुने गर्छ र, यो दुखाई क्रमशः हाततिर सर्दै जान्छ ।
– धेरै पटक चक्कर आउनु तथा टाउको घुम्नु, बेहोश हुनु तथा थकान महशुस हुनु पनि मुटु रोगको संकेत हो ।
कसरी बच्ने ?
चिकित्सकका अनुसार मुटुमा अक्सिजनको प्रवाह राम्ररी नभए पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ । यसैले मुटुमा कुनै अवरोध आउन नदिन तथा मुटुको धमनीलाई स्वस्थ तथा खुला राख्न स्वच्छ वातावरणमा लामो–लामो सास फेर्न जरुरी छ । यसले मुटुलाई स्वस्थ राख्न सहायता दिन्छ । डा. कोइरालाका अनुसार मुटु रोग लाग्ने प्रमुख कारण भनेको तनाव नै हो । यसकारण, मुटु रोग लाग्नबाट बच्नका तनाव कम गर्न जरुरी छ । नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटुसम्बन्धी व्यायम गरेर समेत मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।