तिलोत्तमा नगरपालिकामा आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ



Download our app to get more features

रुपन्देही, १ माघ । तिलोत्तमा नगरपालिकाको सेमराबजार स्वास्थ्य चौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु भएको छ । 

नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो ।
 

सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

तिलोत्तमामा सात वटा स्वास्थ्य चौकी, दुईवटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् । 

१५ शय्याको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी बताईन् । 

सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले जग्गाको समस्या समाधान हुनेवित्तिकै निर्माण अघि बढ्ने बताईन् । 

चिकित्सकीय सेवा सुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले जग्गाको स्वामित्व स्वास्थ्यचौकी मातहतमा आएपछि १५ शैंयाको अस्पताल बनाइने बताए । स्वास्थ्यचौकीले उपयोग गरेको जग्गालाई चौकी मातहत ल्याउन आफू लागिपरेको बताउँदै उनले स्वास्थ्य चौकीलाई अस्पताल बनाउन नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका सबै जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताए । 

५ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताए । 

चिकित्सकीय सेवा सुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै डा गिरीले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी, करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष कृष्ण पौडेललगायतले बोलेका थिए । 

नगर प्रमुख जागेश्वरी चौधरीको अध्यक्षता, स्वास्थ्यचौकी ईञ्चार्ज कमल पाण्डेयको सञ्चालन तथा शिक्षा उप–सचिव गंगाराम आचार्यको स्वागतमा कार्यक्रम भएको हो । निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सेमराबजार स्वास्थ्य चौकीमा प्रयोगशाला समेत छ । हाल स्वास्थ्य चौकीमा डा. विनोद बढई कार्यरत रहेका छन् । 
 
सोही अवसरमा बर्थिङ सेन्टरमा सुत्केरी भएकाहरुलाई प्रोत्साहन स्वरुप थप पाँच सय रुपैंयाँ प्रदान गरिएको थियो । तिलोत्तमा नगरपालिकाले शुन्य होम लेडिभरीलाई प्राथमिकता दिँदै आफ्नै स्रोतबाट बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ । 

Last modified on 2020-01-15 08:30:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts