प्रसाईं-गिरी टकराव: डा. गिरीले पनि प्रसाईं विरुद्ध जिल्ला अदालतमा हाले मुद्दा

काठमाडौं, २९ पुष । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।
२० करोड घुस मागेको आरोप लगाउने प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं विरुद्ध डा. गिरीले मंगलबार जिल्ला अदालत काठमाडौंमा गालीगलौज र मानहानीमा मुद्दा दर्ता गरेका हुन् ।
डा. गिरीले कपोलकल्पित तरिकाले कथा बनाएर मेरो प्रतिष्ठामाथि आघात पुग्ने गरी गम्भीर आरोप लगाईएकाले प्रसाईं विरुद्ध मुद्दा दायर गदै हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेको प्रतिक्रिया दिएका छन् ।
एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनसम्बन्धी सबै कानुनी पक्रिया पुरा गरी आयोगसमक्ष निवेदन दिँदा दर्ता नगरेर २० करोड रकम वा १० प्रतिशत शेयर माग गरेको प्रसाईंले दावी गरेपछि गिरीले पनि सोही दिन पत्रकार सम्मेलन गर्दै त्यसको खण्डन गरेका थिए ।
यता, बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा मंगलबार नै उजुरी दिएका छन् । गिरीले अनियमितता गरी अकूत सम्पत्ति कमाएको र झुठो विवरण पेश गरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेको भन्दै प्रसाईंले सम्पति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी दिएका हुन् ।